बीवाईडीका सवारीमा एनसेलको आईओटी सिम, कनेक्टेड ड्राइभिङ सेवाका लागि साझेदारी

ड्रागन मिडिया सम्वाददाता
एनसेलले नेपालमा बीवाईडीका सवारी साधनमा इन्टरनेट अफ थिङ्स अर्थात आईओटी सिममार्फत कनेक्टेड सवारी सेवा उपलब्ध गराउन बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ।
साझेदारीअनुसार नेपालमा बिक्री हुने बीवाईडीका सवारी साधनमा एनसेलको आईओटी सिम जडान गरिनेछ। यसबाट सवारी साधनले बाह्य वाईफाई हटस्पट वा मोबाइल फोनको डेटा प्रयोग नगरी प्रत्यक्ष रूपमा इन्टरनेटमा जोडिन सक्नेछन्।
आईओटी सिममार्फत बीवाईडीको एप प्रणाली तथा सवारीभित्र उपलब्ध सूचना र मनोरञ्जनसम्बन्धी विभिन्न कनेक्टेड सुविधा सञ्चालन गर्न सकिने कम्पनीहरूले जनाएका छन्। प्रयोगकर्ताले सवारी साधनको प्रणालीबाटै युट्युब, स्पोटिफाइ र काराओकेलगायत उपलब्ध अनलाइन सेवा प्रयोग गर्न सक्नेछन्।
सुविधाको उपलब्धता भने सवारी साधनको मोडल, सफ्टवेयर, नेपालमा उपलब्ध सेवा तथा नेटवर्क कभरेजमा निर्भर रहनेछ। स्थान र सवारी साधनको प्राविधिक संरचनाअनुसार प्रयोगकर्ताको अनुभव फरक हुन सक्ने एनसेलले जनाएको छ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी सेवासम्बन्धी साझेदारीले बीवाईडीका सवारीमा स्मार्ट कनेक्टिभिटी, सूचना तथा मनोरञ्जन, सुरक्षा र प्रविधिमा आधारित गतिशीलतासम्बन्धी सुविधा विस्तार गर्ने बताए।
उनका अनुसार बीवाईडी एप र विभिन्न अनलाइन सेवाका लागि सवारी साधनमै प्रत्यक्ष कनेक्टिभिटी उपलब्ध हुँदा प्रयोगकर्ताले बाह्य हटस्पट वा फोनको मोबाइल डेटामा निर्भर हुनुपर्ने आवश्यकता घट्नेछ। स्थानीय नेटवर्कसँग प्रत्यक्ष जोडिँदा नेभिगेसनलगायतका कनेक्टेड सुविधा प्रयोग गर्न पनि सहज हुने उनले बताए।
साझेदारीबाट नयाँ बीवाईडी ग्राहकसँगै यसअघि नै बीवाईडी सवारी खरिद गरेका प्रयोगकर्ताले पनि लाभ लिन सक्नेछन्। पुराना ग्राहकले नेपालभर रहेका बीवाईडीका १३ आधिकारिक सेवा केन्द्रमध्ये कुनै एकमा पुगेर आफ्नो सवारीमा एनसेलको आईओटी सिम जडान गर्न सक्ने व्यवस्था गरिएको छ।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका ग्राहकलाई सवारीमा उपलब्ध प्रविधिमैत्री सुविधाको पूर्ण उपयोग गर्न सहयोग पुग्ने बताए। भरपर्दो इन भेहिकल कनेक्टिभिटीले बीवाईडीका बुद्धिमत्तापूर्ण सुविधाको प्रयोगलाई थप सहज बनाउने उनको भनाइ छ।
ग्राहकका लागि उपलब्ध कनेक्टिभिटी योजना, सेवा अवधि र शुल्क भने सवारी साधनको मोडल तथा सम्बन्धित सेवा प्याकेजअनुसार फरक हुने जनाइएको छ।





