भदौ ९ देखि नाडा अटो शो, दुई सयभन्दा बढी स्टलमा नयाँ सवारी र प्रविधि प्रदर्शन

ड्रागन मिडिया सम्वाददाता
काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ वार्षिकोत्सवका अवसरमा यस वर्षको प्रदर्शनीलाई स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गर्न लागिएको हो। छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा साना ठूला गरी दुई सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।
प्रदर्शनीमा २३ प्यासेन्जर कार ब्रान्ड, १७ हलुका व्यावसायिक सवारी ब्रान्ड र १३ दुईपाङ्ग्रे सवारी ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै, १० वित्तीय तथा बीमा सेवा प्रदायक र ७० अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य उत्पादन र सेवासम्बन्धी व्यवसायको सहभागिता रहनेछ।
नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारी साधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र अन्य अटोमोबाइल सामग्रीलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ विशेष प्याभिलियनसमेत राखिने भएको छ।
प्रदर्शनीको अर्को प्रमुख आकर्षणका रूपमा जी१ ह्युमनोइड रोबोट र जीओ२ क्वाड्रुपेड रोबोट रहनेछन्। यी रोबोटमार्फत भविष्यको गतिशीलता र विकसित प्रविधिको प्रत्यक्ष अनुभव गराउने आयोजकको तयारी छ।
अटो शोमा विभिन्न ब्रान्डका नयाँ सवारी साधन सार्वजनिक गरिनुका साथै स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीसँग सम्बन्धित कार्यक्रम तथा छलफलसमेत आयोजना गरिनेछन्।
दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै प्रदर्शनी क्षेत्रको व्यवस्था गरिनेछ।
नाडाका अनुसार प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक र उपभोक्तालाई एउटै मञ्चमा जोड्दै नेपाली अटोमोबाइल क्षेत्रका नयाँ उत्पादन, प्रविधि र बजार प्रवृत्तिबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
छ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा करिब दुई लाख अवलोकनकर्ता सहभागी हुने आयोजकको अनुमान छ।





