बाढीपहिरोले म्याग्दीका जलविद्युत आयोजना प्रभावित, २० मेगावाट उत्पादन ठप्प

ड्रागन मिडिया सम्वाददाता
बाढी र पहिरोका कारण म्याग्दीमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।
सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानीमा समस्या भएपछि धवलागिरि, अन्नपूर्ण र मालिका गाउँपालिकामा निर्माणाधीन आयोजनाको काम प्रभावित भएको हो।
म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाटको अपर म्याग्दी–१, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला, ९.१४ मेगावाटको सुपर घलेम्दी र ६.५ मेगावाटको दरखोला जलविद्युत आयोजनाको निर्माण बाढीपहिरोका कारण प्रभावित भएको छ।
अपर म्याग्दी–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने अर्थात फापरखेत, बाङ्गेपहिरो र इल्पुमा खसेको पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण गत असारदेखि सिमेन्ट, रडलगायत निर्माण सामग्री र उपकरण बोकेका सवारी आयोजनास्थल पुग्न सकेका छैनन्।
मौजुदा सामग्री र उपकरण प्रयोग गरेर कामलाई निरन्तरता दिइए पनि ढुवानी अवरुद्ध हुँदा अपेक्षाअनुसार निर्माण अघि बढ्न नसकेको उनले बताए।
म्याग्दीखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीका अनुसार खोलामा बाढीको सतह बढ्ने र पहुँचमार्गमा पहिरो खस्ने समस्याका कारण निर्माण प्रभावित भएको छ। डोजरको सहायताले पहिरो पन्छाउँदै र सामान बोकेका सवारी पार गराएर काम अघि बढाउनुपरेको उनले बताए।
हाल ३७ मेगावाट क्षमतामा निर्माण भइरहेको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको क्षमता ४६.२५ मेगावाट पुर्याउने प्रक्रिया अघि बढाइएको छ। करिब ६० प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको निर्माणमा पनि बाढीपहिरोले असर पुर्याएको छ।
बेनी–दरबाङ तथा दरबाङ–धारापानी–ताकम–मुना सडकका थापाचौर, गौथली र दाचौर भिरलगायत क्षेत्रमा पहिरो खस्दा दरखोला जलविद्युत् आयोजनाका लागि आवश्यक निर्माण सामग्री ढुवानीमा समस्या भएको आयोजनाका अध्यक्ष रेशम भण्डारीले बताए।
निर्माणाधीन आयोजनासँगै सञ्चालनमा रहेका दुई जलविद्युत आयोजना पनि प्राकृतिक विपदका कारण बन्द भएका छन्।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँध क्षेत्रमा गेग्रान थुपारेपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द छ।
त्यस्तै, साउन २६ गते अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरमा गएको सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन ठप्प भएको छ।
उक्त पहिरोमा परेर एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।
लगातारको बाढीपहिरोले सडक तथा पहुँचमार्ग अवरुद्ध पार्दा निर्माणाधीन आयोजनाको समयतालिकामा असर पर्ने देखिएको छ भने सञ्चालनमा रहेका आयोजनाको उत्पादन बन्द हुँदा म्याग्दीको जलविद्युत क्षेत्रमा थप आर्थिक क्षतिको जोखिम बढेको छ।





