१८ भाद्र २०८३, बिहीबार

बुधबार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री भट्ट, आज नेकपा संसदीय दलको बैठक

ड्रागन मिडिया सम्वाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि बुधबार विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो।

विश्वासको मत लिने विषयमा छलफल गर्न मंगलबार दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बस्ने तयारी छ। मुख्यमन्त्रीसँगको छलफलमा सहभागी एक सांसदका अनुसार संसदीय दलको बैठकले विश्वासको मत र सरकार विस्तारका विषयमा आवश्यक निर्णय गर्नेछ।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन्। सत्ता साझेदारीको समझदारीअनुसार अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ।

सरकार विस्तार र विश्वासको मतका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच छलफल भएको छ।

त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, प्रदेश इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मत तथा सरकार विस्तारका विषयमा छलफल भएको थियो।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मत लिएपछि सत्ता साझेदार दलबीच भएको समझदारीअनुसार मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button