बिपी राजमार्गको धुलिखेल–दाप्चा खण्ड १० मिटर चौडा बनाइने, लागत करिब चार अर्ब

ड्रागन मिडिया सम्वाददाता
बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्ध नगरपालिकाको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार करिब २० किलोमिटर लामो उक्त सडकखण्डको मुख्य कालोपत्रे भाग १० मिटर चौडा बनाइनेछ। हाल यस खण्डको कालोपत्रे सडक औसत पाँच दशमलव पाँच मिटर चौडा छ।
सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए।
विस्तृत परियोजना प्रतिवेदनअनुसार सडक विस्तारमा करिब तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतिकिलोमिटर सडक कालोपत्रे तथा विस्तारमा करिब १८ करोड पाँच लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
कार्यालयका अनुसार सडकको दायाँबायाँ १५ मिटरसम्म पर्ने जग्गा तथा संरचनाको मुआब्जा यसअघि नै वितरण भइसकेको छ। विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्छ।
बिपी राजमार्गको अर्को खण्डमा भने २०८१ असोजको बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो। भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडक विभिन्न स्थानमा क्षतिग्रस्त भएको थियो।
क्षतिग्रस्त क्षेत्रमा रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकोमा हाल स्थायी पुनर्निर्माणको काम अघि बढाइएको कार्यालयले जनाएको छ।
राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरेर काम शुरु गरिएको छ। काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास बिपी राजमार्ग निर्माण शुरु गरिएको थियो।
एक सय ६० किलोमिटर लामो राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।





