भीमफेदीमा स्कारपियो दुर्घटना, न्यायाधीश र रजिस्ट्रारसहित छ जना घाइते

ड्रागन मिडिया सम्वाददाता
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित छ जना घाइते भएका छन्।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय न्यायाधीश गोकर्ण डाँगी, बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका ५१ वर्षीय रजिस्ट्रार तारादत्त बडु, उनकी ४९ वर्षीया पत्नी लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र चालक दाङको राप्ती गाउँपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





