न्यायाधीश डाँगीसहित चार घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

ड्रागन मिडिया सम्वाददाता
मकवानपुरको भीमफेदीमा स्कार्पियो दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।
मंगलबार बिहान काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ जुराखेतमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय न्यायाधीश डाँगीसहित गाडीमा सवार छ जना घाइते भएका थिए। डाँगीको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार न्यायाधीश डाँगी, रजिस्ट्रार तारादत्त बडुका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र पत्नी लक्ष्मी बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा घाइते भएका उच्च अदालतका रजिस्ट्रार तारादत्त बडु र सवारी चालक छुनिलाल चौधरीको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





