नेपाली सेनामा २८० अधिकृत क्याडेटका लागि भर्ना खुल्यो, भदौ १८ सम्म आवेदन

ड्रागन मिडिया सम्वाददाता
नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जनाको भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताबाट अधिकृत क्याडेट अर्थात सहायक सेनानी तथा उपसेनानी पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
सेनाले सार्वजनिक गरेको सूचनाअनुसार कुल २८० पदमध्ये खुलातर्फ १४६ जना माग गरिएको छ। समावेशीतर्फ महिलाका लागि २४, आदिवासी तथा जनजातिका लागि ३९, मधेसीका लागि ३३, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ पद छुट्याइएको छ।
त्यस्तै, सैनिक तालिम वा कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त भएका नेपाली सैनिकका सन्ततिका लागि १४ पद छुट्याइएको छ।
इच्छुक उम्मेदवारले भदौ १८ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसकेकाले भदौ १९ देखि २५ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सम्पर्क मिति भदौ ३१ गते बिहान ११ बजे तोकिएको छ।








आवेदन दिन चाहने उम्मेदवारले नेपाली सेनाको आधिकारिक भर्ना पोर्टलमार्फत अनलाइन फाराम भरेपछि त्यसको प्रिन्टसहित आवश्यक कागजात लिएर आफूले छनोट गरेको भर्ना केन्द्रमा स्वयं उपस्थित भई दरखास्त पेस गर्नुपर्नेछ। अनलाइन फाराम मात्र भरेर पेस गरिएको आवेदनले मान्यता नपाउने सेनाले स्पष्ट गरेको छ।
दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। एकभन्दा बढी समावेशी समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूहका लागि मूल दस्तुरको २० प्रतिशत अतिरिक्त शुल्क बुझाउनुपर्नेछ।
भर्ना छनौटका लागि काठमाडौंको स्वयम्भूसहित इटहरी, बर्दिबास, हेटौँडा, विजयपुर पोखरा, बुटवल, वीरेन्द्रनगर तथा तेघरी कैलालीमा केन्द्र तोकिएका छन्। उम्मेदवारले एउटै भर्ना छनौट केन्द्रबाट मात्र आवेदन दिन पाउनेछन्।
शैक्षिक योग्यतातर्फ अधिकृत क्याडेटका लागि प्रमाणपत्र तह, कक्षा १२ वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ। स्नातक अधिकृत क्याडेटका लागि स्नातक तह वा सोसरह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ। दुवै समूहका उम्मेदवारले एसईईमा अनिवार्य गणित विषय अध्ययन गरेको हुनुपर्नेछ।
उमेर हद पनि शैक्षिक योग्यताअनुसार फरक तोकिएको छ। कक्षा १२ वा सोसरह योग्यता भएका उम्मेदवार भदौ १८ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। स्नातक तह वा सोसरह योग्यता भएकाको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला सैनिक उम्मेदवार भने २६ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।
शारीरिक योग्यतातर्फ पुरुषको उचाइ कम्तीमा पाँच फिट तीन इन्च र तौल कम्तीमा ५० किलोग्राम हुनुपर्नेछ। महिलाको उचाइ कम्तीमा पाँच फिट र तौल कम्तीमा ४० किलोग्राम हुनुपर्नेछ। पुरुषको छाती नफुलाउँदा कम्तीमा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्ने मापदण्ड तोकिएको छ।
उम्मेदवार अविवाहित हुनुपर्ने र तालिम अवधिभर विवाह गर्न नपाइने व्यवस्था पनि सूचनामा उल्लेख छ।
छनौट प्रक्रियामा वियरिङ तथा प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक परीक्षा, आईक्यू परीक्षा, लोक सेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, गुणमापक परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र बोर्ड अन्तर्वार्ता समावेश हुनेछन्।
नेपाली सेनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।





