१८ भाद्र २०८३, बिहीबार

प्रधानमन्त्री शाहको आलोचना भएकोमा रास्वपा सांसद पराजुलीको दुःख

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले देशको मुहार फेर्ने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाह अहोरात्र खटिरहेको अवस्थामा समेत उनको आलोचना भइरहेको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रतिनिधिसभामा मंगलबार बोल्दै पराजुलीले सरकारका कामको आलोचना भइरहे पनि सकारात्मक प्रयासमा सहयोग गर्न आग्रह गरे।

पछिल्लो समय खाना पकाउने ग्यासको अभाव, किसानले रासायनिक मल नपाएको विषय तथा सरकारका मन्त्रीहरूको कार्यशैलीलाई लिएर प्रतिपक्षीसँगै सत्तारुढ दलकै सांसदहरूले प्रश्न उठाइरहेका छन्।

यही सन्दर्भमा पराजुलीले प्रधानमन्त्री शाह र सरकारका मन्त्रीहरूले जनताको समस्या बुझ्न सक्रिय रूपमा काम गरिरहेको दाबी गरे।

‘प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नुभएको छ। तर उहाँकै आलोचना भइरहेको छ,’ पराजुलीले भने।

उनले पूर्वाधारमन्त्री सुनिल लम्सालले देशका विभिन्न स्थानमा पुगेर सडक तथा पूर्वाधारको अवस्था बुझिरहेको उल्लेख गर्दै त्यसलाई अनावश्यक भ्रमणका रूपमा आलोचना गर्न नहुने बताए।

‘मन्त्री सुनिल लम्साल देशभर गाउँगाउँमा बाटोको अवस्था के छ भन्दै आफैँ गाडी चलाएर पुग्नु पनि आलोचना भएको छ। उहाँ जनताको समस्या बुझ्न गाउँगाउँ जानुभएको हो, रिबन काट्न होइन,’ पराजुलीले भने।

सरकारले गरेका राम्रा काममा सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले कमजोरी भए सुधारका लागि सुझाव दिन सकिने बताए।

यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलकै सांसदहरूले मन्त्रीहरू नीति निर्माण र मन्त्रालयको काममा केन्द्रित हुनुपर्नेमा धेरै समय देश दौडाहामा बिताइरहेको भन्दै प्रश्न उठाएका थिए।

ग्यास तथा मलको अभावसहित दैनिक जनजीवनसँग जोडिएका समस्या समाधानमा सरकारको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला रास्वपा सांसद पराजुलीले भने सरकारको सक्रियतालाई सकारात्मक रूपमा हेर्न आग्रह गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button