जियाङ जमिनको जन्मशतवार्षिकीमा सी चिनफिङको श्रद्धाञ्जली, चिनियाँ विशेषतासहितको समाजवाद अघि बढाउन आह्वान

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवंगत नेता जियाङ जमिनले चीनको विकास र चिनियाँ विशेषतासहितको समाजवाद अघि बढाउन अविस्मरणीय योगदान पुर्याएको बताएका छन्।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सोमबार आयोजित जियाङ जमिनको जन्मशतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी र सबै जातीय समूहका चिनियाँ जनतालाई चिनियाँ विशेषतासहितको समाजवादको अभियान निरन्तर अघि बढाउन आह्वान गरे।
सीले जियाङका उपलब्धिप्रति उच्च सम्मान व्यक्त गर्दै उनको राजनीतिक दृढता, जनताप्रतिको समर्पण, नवीन सोच, रणनीतिक दृष्टि र चुनौती सामना गर्ने क्षमताबाट सिक्नुपर्ने बताए।

जियाङलाई दीर्घकालीन राजनीतिक अनुभव भएका कम्युनिष्ट नेता तथा चिनियाँ विशेषतासहितको समाजवादका प्रमुख नेतामध्ये एकका रूपमा स्मरण गर्दै सीले उनी चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पुस्ताको केन्द्रीय नेतृत्वका मुख्य नेता र ‘थ्री रिप्रेजेन्ट्स’ सिद्धान्तका प्रमुख संस्थापक रहेको बताए।
सन् १९२६ को अगस्टमा जियाङ्सु प्रान्तको याङझाउमा जन्मिएका जियाङ सन् १९८९ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव बनेका थिए। उनको सन् २०२२ मा ९६ वर्षको उमेरमा निधन भएको थियो।
करिब छ हजार सहभागी रहेको समारोहको अध्यक्षता प्रधानमन्त्री ली छ्याङले गरेका थिए। समारोहमा चाओ लची, वाङ हुनिङ, छाइ छी, तिङ सुएस्याङ र ली सीसहित चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य तथा उपराष्ट्रपति हान चङ सहभागी थिए।

सीले जियाङको नेतृत्वमा चीनले सुधार तथा खुलापनलाई थप विस्तार गरेको, जनताको जीवनस्तर उकासेको र चिनियाँ विशेषतासहितको समाजवादलाई २१औँ शताब्दीमा अघि बढाउन महत्वपूर्ण आधार तयार गरेको बताए।
जियाङले आर्थिक विकासको मूल उद्देश्य जनताको जीवनस्तर सुधार गर्नु भएकोमा जोड दिएको स्मरण गर्दै सीले नयाँ यात्रामा जनकेन्द्रित विकास र साझा समृद्धिलाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने बताए।
सीले जियाङको नेतृत्वमा सैद्धान्तिक, संस्थागत, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा नवीनता अघि बढेको बताए। चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन जियाङले खेलेको भूमिकालाई पनि उनले विशेष रूपमा उल्लेख गरे।

उनका अनुसार जियाङले अन्तर्राष्ट्रिय परिवेशलाई दीर्घकालीन दृष्टिले हेर्दै बहुध्रुवीय विश्व व्यवस्था र आर्थिक विश्वव्यापीकरणलाई सकारात्मक दिशामा अघि बढाउने विषयमा महत्वपूर्ण रणनीतिक सोच प्रस्तुत गरेका थिए।
राष्ट्रपति सीले वर्तमान चरणमा चीनले नयाँ विकास अवधारणा पूर्ण रूपमा कार्यान्वयन गर्दै उच्च गुणस्तरीय विकासलाई तीव्र बनाउनुपर्ने र मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणका लागि थप योगदान दिनुपर्ने बताए।
जियाङको साहस र संकट व्यवस्थापन क्षमताको चर्चा गर्दै सीले उनको नेतृत्वमा चीनले एसियाली वित्तीय संकटको प्रभाव सामना गरेको र सन् १९९८ को भीषण बाढीविरुद्धको संघर्षमा सफलता हासिल गरेको स्मरण गरे।
सीले नयाँ यात्रामा चीनले जटिल जोखिम तथा चुनौती सामना गर्न तयार रहँदै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्नुपर्ने बताए।
उनले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरताको चिनियाँ उपलब्धिलाई थप अघि बढाउँदै जनताको जीवन अझ समृद्ध बनाउने र चिनियाँ राष्ट्रको पुनरुत्थानको नयाँ अध्याय लेख्नुपर्नेमा जोड दिए।





