१८ भाद्र २०८३, बिहीबार

COP17 मा ‘अन्तर्राष्ट्रिय घाँसेमैदान दिवस’ स्थापना गर्न चीनको प्रस्ताव

ड्रागन मिडिया समाचार कक्ष

संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रण महासन्धिको १७औँ पक्ष राष्ट्र सम्मेलन COP17 मा चीनले ‘अन्तर्राष्ट्रिय घाँसेमैदान दिवस’ स्थापना गर्न प्रस्ताव गरेको छ।

मंगोलियाको राजधानी उलानबाटरमा सोमबार सुरु भएको सम्मेलनमा चीनले मरुभूमीकरण नियन्त्रण, घाँसेमैदान पुनर्स्थापना, वैज्ञानिक प्रविधिको प्रयोग र वातावरणीय संरक्षणसँगै स्थानीय जनजीविका सुधारका क्षेत्रमा हासिल गरेको अनुभव अन्तर्राष्ट्रिय समुदायसँग साझा गर्ने प्रतिबद्धता जनाएको छ।

‘भूमि पुनर्स्थापना, आशाको पुनर्स्थापना’ मूल नारासहित अगस्ट २८ सम्म चल्ने सम्मेलनमा महासन्धिका १९७ पक्षका प्रतिनिधिसँगै संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय संस्था, अनुसन्धान संस्था, व्यवसाय, आदिवासी समुदाय, पशुपालक तथा अन्य सरोकारवाला सहभागी छन्।

सम्मेलनमा भूमिक्षय न्यूनीकरण, दिगो भूमि व्यवस्थापन, खडेरी प्रतिरोध क्षमता, घाँसेमैदान संरक्षण, जलस्रोत, खाद्य प्रणाली र पशुपालक समुदायको जीविकासम्बन्धी विषयमा छलफल भइरहेको छ।

चिनियाँ प्रतिनिधिमण्डलले सन् २०२६ लाई संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय घाँसेमैदान तथा पशुपालक वर्ष’ को दीर्घकालीन उपलब्धिका रूपमा अन्तर्राष्ट्रिय घाँसेमैदान दिवस स्थापना गर्न प्रस्ताव गरेको हो। चीनले यस पहलबाट घाँसेमैदान संरक्षण तथा पुनर्स्थापनामा विश्वव्यापी सहकार्यलाई निरन्तरता दिन सहयोग पुग्ने जनाएको छ।

चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका अनुसार चीनले वैज्ञानिक मरुभूमीकरण नियन्त्रण, घाँसेमैदान पुनर्स्थापना, प्रविधिगत नवीनता तथा वातावरण संरक्षणलाई जनजीविकासँग जोड्ने अभ्यासलाई सम्मेलनमा प्रस्तुत गरेको छ।

चीनले चीन अरब राष्ट्र, चीन मंगोलिया र चीन मध्य एसिया सहकार्य संयन्त्रमार्फत मरुभूमीकरण नियन्त्रणमा भइरहेका क्षेत्रीय प्रयास र अनुभव पनि साझा गरेको छ।

चिनियाँ तथ्याङ्कअनुसार देशको करिब एक चौथाइ भूभाग मरुभूमीकरणबाट प्रभावित छ। पाँच दशकभन्दा लामो प्रयासपछि मरुभूमीकृत तथा बालुवायुक्त भूभागको क्षेत्रफल निरन्तर घटेको र सुधारयोग्य बालुवायुक्त भूमिमध्ये ५३ प्रतिशत प्रभावकारी रूपमा पुनर्स्थापना गरिएको चीनले जनाएको छ।

पछिल्ला पाँच वर्षमा चीनले तीन करोड ६६ लाख हेक्टर भूभागमा हरियाली विस्तार गरेको छ। देशको वन क्षेत्रले कुल भूभागको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको र विश्वमा पछिल्ला वर्ष थपिएको हरियाली क्षेत्रमध्ये करिब २५ प्रतिशत चीनले योगदान गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ।

चीनले भूमिक्षयको वृद्धि रोक्ने लक्ष्य हासिल गरेको र मरुभूमीकृत तथा बालुवायुक्त भूभाग दुवै घट्ने दिशामा पुगेको जनाएको छ।

अन्तर्राष्ट्रिय सहकार्यअन्तर्गत चीनले चीन मंगोलिया मरुभूमीकरण रोकथाम तथा नियन्त्रण सहकार्य केन्द्र, चीन अरब अन्तर्राष्ट्रिय खडेरी, मरुभूमीकरण तथा भूमिक्षय अनुसन्धान केन्द्र र चीन मध्य एसिया मरुभूमीकरण रोकथाम तथा नियन्त्रण सहकार्य केन्द्र स्थापना गरेको छ।

मंगोलियाको ‘एक अर्ब रूख’ अभियानमा खडेरी सहन सक्ने बिरुवा उपलब्ध गराउनेदेखि अफ्रिका तथा अरब क्षेत्रका देशसँग मरुभूमीकरण नियन्त्रणसम्बन्धी प्रविधि र अनुभव आदानप्रदानसम्म चीनले आफ्नो अन्तर्राष्ट्रिय संलग्नता विस्तार गरिरहेको छ।

COP17 मा चीनले ‘चाइना कर्नर’ समेत स्थापना गरी मरुभूमीकरण नियन्त्रण, घाँसेमैदान पुनर्स्थापना, प्रविधि, उपकरण र वातावरणसँग जोडिएको जनजीविका विकासका अभ्यास प्रदर्शन गरिरहेको छ।

विश्वका विभिन्न क्षेत्रमा भूमिक्षय, खडेरी र मरुभूमीकरणको जोखिम बढिरहेका बेला उलानबाटर सम्मेलनले भूमि पुनर्स्थापना र घाँसेमैदान संरक्षणलाई वातावरणीय विषयमा मात्र सीमित नराखी खाद्य सुरक्षा, जलस्रोत, जीविका र दीर्घकालीन विकाससँग जोडेर अघि बढाउने प्रयास गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button