१८ भाद्र २०८३, बिहीबार

सरकार जनअपेक्षाअनुसार काम गर्न असफल : हर्क साम्पाङ

ड्रागन मिडिया सम्वाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाए।

उनले सीमा सुरक्षा, शान्ति सुरक्षा, रासायनिक मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकारले अपेक्षित परिणाम दिन नसकेको बताए।

राईले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा उठेका प्रश्नको दफावार जवाफ दिनुपर्ने माग गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सुनसरीको रामधुनी नगरपालिका–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको दाबी गर्दै त्यहाँका बस्तीवासीलाई न्याय दिन सरकारसँग माग गरे।

उनले धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा रहेको उल्लेख गर्दै पीडितको रकम फिर्ता गराउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताए।

‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन। सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन,’ राईले भने।

विकास निर्माणका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै उनले सुनसरी क्षेत्र नम्बर १ सहित देशभर रोकिएका तथा प्रक्रियामा रहेका विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन माग गरे।

सांसद राईले संसदमा उठाइएका जनसरोकारका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर कार्यान्वयनमुखी जवाफ दिनुपर्नेमा जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button