१८ भाद्र २०८३, बिहीबार

‘मन्त्रीको जीवन जति मूल्यवान, कर्णालीका नागरिकको जीवन पनि त्यति नै मूल्यवान’ : बासना थापा

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले आमनागरिकले आधारभूत स्वास्थ्य सेवा र राहतसमेत समयमा नपाइरहेका बेला मन्त्रीलाई लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल बिरामी भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रसङ्ग उठाउँदै सरकारको प्राथमिकतामाथि प्रश्न गरिन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणका क्रममा बैतडी पुगेपछि मन्त्री लम्सालमा भाइरल संक्रमण तथा रुघाखोकीका लक्षण देखिएका थिए। त्यसपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

थापाले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधि, उपचार र आकस्मिक स्वास्थ्य सेवा पाउन कठिन भइरहेको अवस्थामा मन्त्रीका लागि भने तत्काल राज्यको स्रोत परिचालन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर काठमाडौं ल्याइन्छ,’ थापाले भनिन्।

उनले मन्त्रीलाई काठमाडौं ल्याउन ठूलो रकम खर्च गर्न सक्ने सरकारले दुर्गम क्षेत्रका नागरिकलाई न्यून खर्चमा आवश्यक राहत र स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको आरोपसमेत लगाइन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका नागरिकको जीवन पनि मन्त्रीको जीवनजत्तिकै महत्वपूर्ण रहेको भन्दै उनले राज्यले नागरिकबीच सेवा र सुविधामा विभेद गर्न नहुने बताइन्।

‘कान खोलेर सुन्नुस्। मन्त्रीको जीवन जति मूल्यवान, कर्णालीका नागरिकको जीवन त्यति नै मूल्यवान छ,’ थापाले भनिन्।

उनले सरकारलाई मन्त्री तथा उच्च पदाधिकारीका लागि उपलब्ध गराइने आकस्मिक सेवाजस्तै दुर्गम क्षेत्रका सर्वसाधारणका लागि पनि प्रभावकारी स्वास्थ्य तथा उद्धार संयन्त्र सुनिश्चित गर्न आग्रह गरिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button