भारत र बङ्गलादेशमा विद्युत बेचेर २९ अर्ब ३२ करोड आम्दानी, आयातमा १० अर्ब ५५ करोड खर्च

ड्रागन मिडिया सम्वाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यात बढे पनि त्यसलाई मात्रै नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने बताए।
उनका अनुसार नेपालको जलविद्युत उत्पादन मुख्यतया नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा उत्पादन उच्च हुने तर सुक्खायाममा घट्ने अवस्था छ। वर्षायाममा आन्तरिक मागभन्दा बढी उत्पादन भएको विद्युत खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गरिँदै आएको उनले बताए।
सुक्खायाममा भने स्वदेशी उत्पादनले माग धान्न नसक्दा अझै भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा करिब १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत आयात गरिएको जानकारी दिए।
सांसद बासना थापाको प्रश्नको जवाफमा उनले काठमाडौं उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन स्वचालन प्रणाली विस्तारको काम अघि बढाइएको बताए।
बढ्दो शहरी विद्युत माग व्यवस्थापनका लागि नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तरोन्नति भइरहेको उनले जानकारी दिए। औद्योगिक क्षेत्रमा भोल्टेजको उतारचढाव न्यूनीकरण गर्दै भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न डेडिकेटेड फिडरसहितका पूर्वाधार निर्माण र सुधारलाई पनि प्राथमिकता दिइएको उनको भनाइ थियो।
देशका विभिन्न स्थानमा देखिएको भोल्टेज उतारचढाव, बारम्बार ट्रिपिङ र ट्रान्सफर्मरमा देखिने खराबी अध्ययन गर्न मन्त्रालयले असार १६ गते उच्चस्तरीय समिति गठन गरेको मन्त्री श्रेष्ठले बताए। समितिले तयार गरेको प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि साउन २० गते नेपाल विद्युत प्राधिकरणलाई पठाइसकिएको उनले जानकारी दिए।
पुराना, जीर्ण तथा न्यून क्षमताका वितरण संरचना र पछिल्लो समय तीव्र रूपमा बढेको विद्युत खपत अहिलेको मुख्य चुनौती रहेको मन्त्री श्रेष्ठले बताए।
घरेलु विद्युतीय उपकरणको प्रयोग बढेसँगै गार्हस्थ्य विद्युत माग निरन्तर बढिरहेको तर पुराना संरचनाले बढ्दो भार धान्न नसक्दा कतिपय क्षेत्रमा विद्युत अवरुद्ध हुने समस्या देखिएको उनको भनाइ थियो।
नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर तथा फिडरको क्षमता वृद्धि, वितरण प्रणाली सुदृढीकरण, माग व्यवस्थापन र तत्काल मर्मत सम्भारलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
विद्युतसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालयको २४सै घण्टा सञ्चालन हुने ११५१ हटलाइन, नेपाल विद्युत प्राधिकरणको ११५० हटलाइन तथा ‘नो लाइट’ सेवामार्फत गुनासो सुनुवाइ र समाधान भइरहेको उनले बताए।





