ज्वाला संग्रौलाको अभिव्यक्तिपछि प्रतिनिधिसभामा विवाद, एमाले सांसद सिद्दीकीको प्रतिवाद

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच विवाद भएको छ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै संग्रौलाले वर्तमान सरकारले देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र ‘गुन्डाराजको क्यान्सर’बाट मुक्त गराउने दाबी गरेपछि विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्।
संग्रौलाले विगत ३५ वर्षको शासन व्यवस्था र त्यस क्रममा भएका बेथितिकै परिणामस्वरूप गत भदौमा जेनजी आन्दोलन भएको दाबी गरिन्।
उनले जेनजी आन्दोलनका क्रममा सिंहदरबार अगाडि ज्यान गुमाएकाहरूको प्रसङ्ग उठाउँदै विगतको शासनप्रति कडा आलोचना गरिन्। अघिल्ला सरकारको समयमा चलाइएको गोलीबाट ज्यान गुमाएका युवाको रगत अझै नसुकेको उनको भनाइ थियो।
उनको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरूले उठेर आपत्ति जनाए।
नेकपा एमालेकी सांसद साजिदा सिद्दीकीले संग्रौलाको भनाइको प्रतिवाद गर्दै वर्तमान सरकारमाथि नै ‘गुन्डाराज’ चलाएको आरोप लगाइन्।
प्रतिपक्षले सरकारका कामकारवाहीमाथि प्रश्न उठाउँदा त्यसलाई गुन्डाराजसँग जोडेर प्रस्तुत गर्न नमिल्ने भन्दै सिद्दीकीले आपत्ति जनाइन्। उनले प्रतिपक्ष देश र जनताको पक्षमा उभिएर सरकारलाई प्रश्न गरिरहेको बताइन्।
जेनजी आन्दोलनका क्रममा भएको गोली प्रहारको विषय उठाउने सत्तापक्षले सिरहामा पछिल्लो समय भएको गोली प्रहारका घटनाबारे पनि जवाफ दिनुपर्ने सिद्दीकीको भनाइ थियो।
सिद्दीकीको प्रतिवादपछि संग्रौलाले पुनः बोल्दै उनको अभिव्यक्तिमा आपत्ति जनाइन्। उनले सिद्दीकीले आफू र आफ्नो दललाई लक्षित गरी दिएको भनाइ संसदको अभिलेखबाट हटाउन माग गरिन्।
सत्तापक्ष र प्रतिपक्षबीच विगतको शासन, जेनजी आन्दोलन र वर्तमान सरकारको कार्यशैलीलाई लिएर आरोप प्रत्यारोप भएपछि प्रतिनिधिसभा बैठक केहीबेर विवादपूर्ण बनेको थियो।





