१८ भाद्र २०८३, बिहीबार

किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्न प्रहरीको प्रयास, कागजात अपुग भन्दै अदालतले फाइल फर्कायो

ड्रागन मिडिया सम्वाददाता

सर्वोच्च अदालतको आदेशपछि सोमबार हिरासतमुक्त भएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई अर्को जाहेरीका आधारमा पुनः पक्राउ गर्न प्रहरीले प्रयास गरेको छ। तर ललितपुर जिल्ला अदालतले आवश्यक कागजात अपुग रहेको भन्दै पक्राउ अनुमति मागसम्बन्धी फाइल फिर्ता गरेको छ।

प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले सोमबार नै श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। जनआस्थामा प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुर्‍याएको दाबी गर्दै उनले विद्युतीय कारोबारसम्बन्धी कानूनअन्तर्गत कारवाहीको माग गरेकी हुन्।

सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतसँग अनुमति मागेको हो।

जिल्ला अदालत ललितपुरका प्रवक्ता टिकाध्वज कार्कीले श्रेष्ठलाई पक्राउ गर्न प्रहरीबाट अनुमति माग भएको पुष्टि गरेका छन्। तर आवश्यक कागजात पूरा नभएकाले फाइल फिर्ता गरिएको उनले बताए।

‘हामीले थप कागजात ल्याउन भनेका छौँ। त्यो आएपछि पक्राउ अनुमति जारी गर्ने वा नगर्ने निर्णय हुन्छ,’ कार्कीले भने।

प्रहरीले आवश्यक कागजात जुटाएर पुनः अदालत जाने तयारी गरिरहेको जनाइएको छ।

यसअघि वैयक्तिक गोपनीयतासम्बन्धी अर्को कसुरमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार थुनामुक्त गर्न परमादेश दिएको थियो।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उपलब्ध तथ्यका आधारमा श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

सर्वोच्चले श्रेष्ठविरुद्धको अनुसन्धान भने रोकेको छैन। वैयक्तिक गोपनीयता उल्लंघन भएको हो वा होइन भन्ने मूल प्रश्न सम्बन्धित मुद्दाबाटै निरूपण हुने आदेशमा उल्लेख छ।

सर्वोच्चको आदेशबाट हिरासतमुक्त भएको भोलिपल्टै अर्को प्रकाशित सामग्रीसँग सम्बन्धित जाहेरीमा उनलाई पुनः पक्राउ गर्न अनुमति मागिएको घटनाले सञ्चार सामग्रीसम्बन्धी विवादमा पक्राउ र हिरासतको प्रयोगबारे नयाँ बहस सिर्जना गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button