१८ भाद्र २०८३, बिहीबार

राजदूत पद लामो समय रिक्त राख्दा विदेश नीतिमा नकारात्मक प्रभाव परेको कांग्रेसको निष्कर्ष

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसले विभिन्न मुलुकमा लामो समयदेखि राजदूत पद रिक्त रहँदा नेपालको कूटनीतिक उपस्थिति र विदेश नीतिको प्रभावकारितामा नकारात्मक असर परेको भन्दै तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।

कांग्रेस केन्द्रीय समितिको बैठकले विदेशस्थित नेपाली कूटनीतिक नियोगमा नेतृत्व र आवश्यक जनशक्तिको अभाव लामो समय कायम रहनु उचित नभएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।

उनले राजदूत कुनै सामान्य प्रशासनिक पद नभई विदेशमा देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण कूटनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै लामो समयसम्म पद रिक्त राखिनुले विदेश नीति सञ्चालनमा अपरिपक्वता देखाउने टिप्पणी गरे।

‘देशको विदेश नीतिमा राजदूत भनेको सामान्य विषय होइन। देशको प्रतिनिधित्व गर्ने संस्था राजदूतविहीन हुनु भनेको हाम्रो विदेश नीतिमा अपरिपक्वता देखिएको छ,’ चालिसेले भने।

कूटनीतिक नियोग, वाणिज्य दूतावास तथा सम्बन्धित निकायमा आवश्यक जनशक्ति र नेतृत्व अभाव हुँदा विदेशमा रहेका नेपालीले राहदानी नवीकरणदेखि समस्यामा परेका नागरिकको उद्धार तथा मृतकको शव नेपाल ल्याउने प्रक्रियासम्म कठिनाइ भोग्नुपरेको उनको भनाइ छ।

नेपालले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई मात्र प्राथमिकता दिएर नपुग्ने भन्दै कांग्रेसले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, सेवा र समस्याप्रति पनि राज्य उत्तिकै जिम्मेवार हुनुपर्ने जनाएको छ।

कांग्रेसले विभिन्न सरकारी निकायका पदाधिकारीलाई अध्यादेशमार्फत हटाएर नयाँ नियुक्ति गरिएको विषयमा पनि प्रश्न उठाएको छ।

पुराना पदाधिकारी हटाउँदा योग्यता र कार्यसम्पादनलाई आधार बनाइएको दाबी गरिए पनि पछिल्ला नियुक्तिमा सत्तासँग निकट व्यक्तिलाई प्राथमिकता दिइएको देखिएको कांग्रेसको आरोप छ।

सरकारी नियुक्तिमा पारदर्शिता, निष्पक्षता र योग्यतामा आधारित प्रणाली पूर्ण रूपमा पालना हुनुपर्ने उल्लेख गर्दै कांग्रेसले राजनीतिक निकटतालाई प्रमुख आधार बनाउन नहुने जनाएको छ।

कांग्रेसले नागरिकका दैनिक समस्या, राष्ट्रिय विपद, सामाजिक सद्भाव, कूटनीतिक प्रतिनिधित्व र सरकारी नियुक्तिसम्मका विषयमा सरकारलाई थप जवाफदेही र जिम्मेवार बन्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button