चीनको Kinastra-1 अपर स्टेजले प्रमुख परीक्षण पूरा गर्यो, अर्को वर्ष पहिलो उडानको तयारी

ड्रागन मिडिया समाचार कक्ष
चीनको व्यावसायिक अन्तरिक्ष कम्पनी CAS Space ले विकास गरिरहेको Kinastra-1 अपर स्टेजले प्रमुख प्रणोदन प्रणाली परीक्षण पूरा गरेको छ। कम्पनीले यसको पहिलो उडान सन् २०२७ को पहिलो त्रैमासिकमा गर्ने तयारी गरेको छ।
Kinastra-1 रकेटबाट पृथ्वीको सतहबाट उड्ने मुख्य चरण होइन। प्रक्षेपण यानले यसलाई उपग्रहसहित अन्तरिक्षमा पुर्याएपछि यसले उपग्रहलाई निर्धारित कक्षमा स्थानान्तरण गर्ने काम गर्छ।
यस्तो प्रणालीले एउटै प्रक्षेपणबाट विभिन्न उपग्रहलाई अलग अलग कक्षमा पुर्याउन सक्ने भएकाले उपग्रहको आफ्नै इन्धन खपत घटाउन र सञ्चालन अवधि लम्ब्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हालै सम्पन्न परीक्षणमा इञ्जिन प्रेसराइजेसन, इन्धन आपूर्ति, इन्धन व्यवस्थापन तथा सर्वो नियन्त्रण प्रणालीको समग्र परीक्षण गरिएको जनाइएको छ।
परीक्षणले उच्च थ्रस्ट र बहुपटक पुनःप्रज्वलन क्षमता, बहुट्याङ्कीबाट सन्तुलित इन्धन आपूर्ति र उच्च विश्वसनीयतायुक्त एकीकृत विद्युतीय प्रणालीसहितका प्रमुख प्रविधि पनि प्रमाणित गरेको कम्पनीले जनाएको छ।
Kinastra-1 मा प्रयोग हुने इञ्जिनले हालसम्म कुल पाँच हजार २११ सेकेन्ड परीक्षण प्रज्वलन पूरा गरेको छ। यो इञ्जिन २० पटकभन्दा बढी पुनःप्रज्वलन गर्न सक्षम रहेको जनाइएको छ।
अपर स्टेजले कक्षा परिवर्तनको मार्ग स्वचालित रूपमा योजना बनाउन सक्ने र अन्तरिक्षको निर्वात तथा अत्यधिक तापक्रम परिवर्तनजस्ता कठिन वातावरणमा सञ्चालन हुन सक्ने गरी डिजाइन गरिएको छ।
यसको मोड्युलर संरचनाका कारण विभिन्न प्रकारका प्रक्षेपण यानसँग संयोजन गर्न सकिने कम्पनीले जनाएको छ। CAS Space को Kinetica-2 रकेटसँग Kinastra-1 जोड्दा भूस्थिर स्थानान्तरण कक्षा, भूस्थिर कक्षा तथा अन्य उच्च ऊर्जा मिशन सञ्चालन गर्न सकिनेछ।
कम्पनीका अनुसार Kinastra-1 उच्च कक्षीय सञ्चार उपग्रह समूह स्थापना, एउटै प्रक्षेपणबाट विभिन्न कक्षमा धेरै उपग्रह परिचालन तथा गहिरो अन्तरिक्ष अन्वेषणजस्ता जटिल मिशनका लागि उपयोग गर्न सकिने गरी विकास गरिएको हो।
Kinastra-1 को सफल परीक्षण र निर्धारित पहिलो उडानलाई चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा उच्च कक्ष तथा गहिरो अन्तरिक्ष मिशन सञ्चालन क्षमता विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।





