१८ भाद्र २०८३, बिहीबार

नेपाल–भारत डिजिटल भुक्तानी थप सहज, यूपीआई र एनपीआईबीच अन्तरआबद्धता विस्तार

ड्रागन मिडिया सम्वाददाता

नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडले नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गरेको छ।

नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले क्युआर कोडमा आधारित युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रयोग गरेर सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था विस्तार हुँदै गएको छ। त्यस्तै, भारतको यूपीआई र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच अन्तरआबद्धता स्थापना भएसँगै दुवै देशबीच व्यक्ति–देखि–व्यक्ति तत्काल रकम पठाउने सुविधा पनि सञ्चालनमा आएको छ।

भारतको यूपीआई विश्वका सबैभन्दा ठूलो तत्काल डिजिटल भुक्तानी प्रणालीमध्ये एक हो। यसले मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार प्रशोधन गर्दै आएको र विश्वव्यापी तत्काल भुक्तानी कारोबारको ठूलो हिस्सा ओगट्ने एनपीसीआई इन्टरनेसनलले जनाएको छ।

सन् २०२५ मा दुई लाख ९० हजारभन्दा बढी भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए। फोनपे नेटवर्कमा आबद्ध नेपाली व्यवसायीले यूपीआईमार्फत भुक्तानी स्वीकार गर्न सक्ने भएकाले भारतीय पर्यटकलाई नेपालमा नगदरहित कारोबार थप सहज भएको छ।

चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा समेत भारतीय पर्यटकले क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यवस्था विस्तार गरिएको छ।

यसले पर्यटकलाई ठूलो परिमाणमा नगद बोक्ने वा पटकपटक मुद्रा सटही गर्नुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ। नेपाली व्यवसायीलाई पनि छिटो र सुरक्षित रूपमा भुक्तानी प्राप्त गर्न सहयोग पुग्नेछ।

यसैगरी, नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको यूपीआई–एनपीआई सहकार्यले नेपाल र भारतबीच दुईतर्फी तत्काल रकम स्थानान्तरणको आधार तयार गरेको छ।

यस प्रणालीमार्फत प्रयोगकर्ताले बैंक खाताको विस्तृत विवरण आदानप्रदान नगरी मोबाइल नम्बर, भर्चुअल पेमेन्ट एड्रेस वा यूपीआई परिचय प्रयोग गरेर भारतबाट नेपाल र नेपालबाट भारत रकम पठाउन सक्नेछन्।

एनपीसीआई इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले फोनपे र नेपाल क्लियरिङ हाउससँगको सहकार्यले सीमापार भुक्तानीलाई सुरक्षित, सुलभ र छिटो बनाउनुका साथै नेपाल र भारतबीचको आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने बताएका छन्।

कम्पनीले आगामी चरणमा यस सेवाको पहुँच थप बैंक तथा वित्तीय संस्थासम्म विस्तार गर्दै लैजाने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button