१९ भाद्र २०८३, शुक्रबार

आयुष कुँवरले तोडे ३० वर्ष पुरानो २०० मिटर राष्ट्रिय कीर्तिमान

ड्रागन मिडिया सम्वाददाता

शिवम सिमेन्टमा आबद्ध नेपाली धावक आयुष कुँवरले पुरुष २०० मिटर दौडमा तीन दशक पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।

अमेरिकाको क्यालिफोर्नियास्थित नर्वाकमा जुलाई ११ मा सम्पन्न ग्रान्ड स्प्रिन्ट सिरिजमा कुँवरले २१.८७ सेकेन्डमा २०० मिटर पूरा गरेका थिए। यससँगै रामकृष्ण चौधरीले सन् १९९५ मा कायम गरेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान भंग भएको हो।

त्यसपछि अगस्ट ९ मा बेलायतको लण्डनस्थित लण्डन म्याराथन कम्युनिटी ट्र्याकमा आयोजित स्ट्राटफोर्ड स्पिड जीपी फोरमा कुँवरले अझ उत्कृष्ट प्रदर्शन गर्दै २१.६६ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान हासिल गरे। यद्यपि उक्त दौडमा अनुमत सीमाभन्दा बढी पृष्ठवायु रहेकाले २१.६६ सेकेन्डको प्रदर्शनलाई आधिकारिक राष्ट्रिय कीर्तिमानका रूपमा अनुमोदन गर्न नमिल्ने देखिएको छ।

कुँवरले यसअघि पुरुष ६० मिटर इन्डोर दौडमा पनि राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। सन् २०२४ फेब्रुअरीमा अमेरिकाको स्पोकेनमा आयोजित प्रतियोगितामा उनले ७.०२ सेकेन्डको समय निकाल्दै सन् २००१ देखि कायम ७.०९ सेकेन्डको पुरानो कीर्तिमान तोडेका थिए।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा सम्पन्न एसियाली एथलेटिक्स च्याम्पियनसिपका क्रममा ह्यामस्ट्रिङ समस्यासँग जुधेका कुँवरले त्यसपछि पुनः प्रशिक्षणमा फर्केर आफ्नो गति सुधारलाई निरन्तरता दिएका हुन्।

तीन दशक पुरानो राष्ट्रिय कीर्तिमान तोडेपछि कुँवरले नेपाली खेलाडीमा क्षमता भए पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण संरचना र अन्तर्राष्ट्रिय अवसरको अभाव रहेको बताएका छन्। लामो समयसम्म कीर्तिमान कायम रहनुको एउटा कारण नयाँ पुस्ताका धावकले पर्याप्त प्रतिस्पर्धात्मक अवसर नपाउनु रहेको उनको भनाइ छ।

नयाँ समयले नेपाली स्प्रिन्टमा नयाँ मापदण्ड स्थापित गरेको उल्लेख गर्दै उनले अब आउने पुस्ताका खेलाडीले यसलाई अझ सुधार गर्ने विश्वास व्यक्त गरेका छन्।

कुँवरले नयाँ धावक उत्पादन र स्प्रिन्ट विधाको विकासका लागि शिवम सिमेन्टको सहकार्यमा ‘स्प्रिन्ट प्रोजेक्ट’ सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिएका छन्।

शिवम सिमेन्टले सन् २०२३ देखि नेपाली एथलेटिक्स खेलाडीलाई प्रायोजन र सहयोग गर्दै आएको छ। कम्पनीले कुँवरको राष्ट्रिय कीर्तिमानप्रति बधाई दिँदै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले सन् २०२७ मा अमेरिकामा आयोजना हुने वर्ल्ड मास्टर्स एथलेटिक्स इन्डोर च्याम्पियनसिपलाई लक्षित गरी कुँवरका प्रशिक्षण साझेदार एवं नेपाली धावक शिवराज पार्कीलाई समेत सहयोग गर्ने योजना अघि सारेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button