आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल रहने पूर्वानुमान छ।
हिमाली भूभागका केही स्थानमा राति मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका केही स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षाका कारण पहिरो, भूक्षय तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने हुन्छ।





