१८ भाद्र २०८३, बिहीबार

देउवालाई प्रचण्डको चेतावनी : संविधानविपरीत धार्मिक एजेण्डा नबोक्न आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानले अंगीकार गरेको धर्मनिरपेक्षताको मर्मभन्दा बाहिर जाने गरी राजनीति नगर्न सचेत गराएका छन्।

मंगलबार नेकपाको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो धार्मिक अभिव्यक्तिप्रति लक्षित गर्दै संविधान निर्माणमा भूमिका खेलेका नेताले संविधानविपरीत निर्णय वा अभिव्यक्ति दिन नहुने बताए।

उनले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दू भएको र हिन्दू धर्ममा विश्वास गर्ने बताएका थिए। उनले आफू पशुपतिनाथ जाने र पूजा गर्ने उल्लेख गर्दै आफ्नो धार्मिक आस्था व्यक्त गर्न पाउनुपर्ने बताएका थिए।

देउवाले भने आफू अन्य धर्मको विरोधी नभएको पनि स्पष्ट गरेका थिए। उनले मुस्लिम, किराँत, बौद्धलगायत विभिन्न धार्मिक आस्था र समुदायप्रति सम्मान रहेको तथा धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए।

देउवाको उक्त अभिव्यक्ति र कांग्रेसको भेलामा धर्मसम्बन्धी उठेको बहसलाई लक्षित गर्दै प्रचण्डले धर्मनिरपेक्षताको संवैधानिक व्यवस्थाबाट पछि हट्ने प्रयास भए त्यसले राजनीतिक तथा संवैधानिक समस्या सिर्जना गर्न सक्ने बताएका हुन्।

प्रचण्डले वर्तमान सरकारको कार्यशैलीमाथि पनि आलोचना गरे। उनले सरकार संविधान, लोकतन्त्र र वर्तमान राजनीतिक व्यवस्थाको मर्मअनुसार अघि नबढेको आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा मिडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढेको उनको आरोप थियो।

सरकारका गलत गतिविधिविरुद्ध राजनीतिक रूपमा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले आवश्यक परे सडक आन्दोलनमा जान तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र संविधानको रक्षा नेकपाको प्रमुख राजनीतिक दायित्वमध्ये एक रहेको उल्लेख गर्दै सरकारका गतिविधिको निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button