१८ भाद्र २०८३, बिहीबार

‘प्रचण्ड बाजे, कता हुनुहुन्छ ?’ भत्किएको पुल देखाउँदै १५ वर्षीया सदीक्षाको प्रश्न

ड्रागन मिडिया सम्वाददाता

रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनबाङकी १५ वर्षीया सदीक्षा ओलीले भत्किएको पुल देखाउँदै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरी बनाएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा हेरिएको छ।

चुनबाङको दोमै खोलामा रहेको पुल भत्किएपछि स्थानीयले जोखिम मोलेर खोला तर्नुपरेको समस्या देखाउँदै सदीक्षाले आइतबार साँझ फेसबुकमा भिडियो पोस्ट गरेकी थिइन्। उक्त भिडियो ४८ घण्टाभित्र १३ लाखभन्दा बढी पटक हेरिएको छ भने एक लाखभन्दा बढी प्रतिक्रिया र हजारौँ टिप्पणी आएका छन्।

भिडियोमा उनले भनिन्, ‘हेलो ! प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ। भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ। गाईबाछालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ। बच्चाहरू यहाँबाट स्कुल आवतजावतसमेत गर्छन्। तिनीहरूलाई पनि बगाउन सक्छ। त्यही भएर यहाँ पुल बनाइदिनुपर्‍यो।’

सदीक्षाका अनुसार घरनजिकै रहेको उक्त पुल करिब दुई महिनाअघि भत्किएको हो। अहिलेसम्म मर्मत नभएको र वर्षायाममा खोलामा पानीको बहाव बढ्दा स्थानीय तथा विद्यालय जाने बालबालिकाका लागि जोखिम बढेको उनले बताएकी छन्।

उक्त पुल स्थानीय बासिन्दाले वडा कार्यालय, विद्यालय र जिल्ला सदरमुकामतर्फ आवतजावत गर्न प्रयोग गर्ने गरेका छन्। पुल भत्किएपछि स्थानीयलाई खोलाबाटै आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ।

भूमे गाउँपालिका–९ की सदीक्षा गाउँबाट करिब एक घण्टाको दूरीमा गैरीगाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्। उनले करिब एक महिनाअघिदेखि सामाजिक सञ्जालका लागि भिडियो बनाउन थालेकी हुन्।

मोबाइल फोन र दाइ सन्दीपको ड्रोन प्रयोग गरेर गाउँको जनजीवन, पशुपालन र स्थानीय परिवेशसम्बन्धी भिडियो बनाउँदै आएकी सदीक्षाका सामाजिक सञ्जालमा छोटो समयमै हजारौँ फलोअर्स बनेका छन्।

उनले पुलको भिडियो बनाउँदा ठूलो चर्चा पाउने उद्देश्य नरहेको र आफूहरूले दैनिक भोगिरहेको समस्या सम्बन्धित पक्षसम्म पुगोस् भन्ने चाहना रहेको बताएकी छन्। चुनावका बेला प्रचण्डलाई आफ्नो क्षेत्रमा देखेको र उनी रुकुम पूर्वबाट निर्वाचित भएकाले पुलको समस्या सुनाएको उनको भनाइ छ।

प्रचण्डले मार्च २०२६ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट विजय हासिल गरेका थिए।

सदीक्षाको भिडियो चर्चामा आएपछि दोमै खोलाको भत्किएको पुल र बर्खामा स्थानीयले भोगिरहेको आवतजावतको जोखिम पनि सार्वजनिक चर्चामा आएको छ। एउटा किशोरीले सरल भिडियोमार्फत उठाएको स्थानीय पूर्वाधारको समस्याले निर्वाचित प्रतिनिधि र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button