सङ्घीय संसदका दुवै सदनको बैठक आज, विद्युत व्यापार सम्झौता प्रतिनिधिसभामा पेस हुने

ड्रागन मिडिया सम्वाददाता
सङ्घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।
सङ्घीय संसदको आधिकारिक विवरणअनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयक प्रतिनिधिसभामा प्रक्रियामा रहेको संसदको आधिकारिक विवरणले देखाएको छ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्नेसम्बन्धी सम्झौता’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची छ। आज प्रकाशित संसदीय कार्यसूचीसम्बन्धी विवरणमा पनि उक्त सम्झौता सदनमा पेस हुने उल्लेख छ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले सभासमक्ष टेबुल गर्ने कार्यक्रम छ। अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीले दिनेछन्।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयक यसअघि राष्ट्रियसभामा प्रस्तुत भई विचारसमेत गरिएको थियो।





