कास्कीमा एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ

ड्रागन मिडिया सम्वाददाता
कास्कीमा गत साउन महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ६७ जना प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा ५८ पुरुष र नौ महिला छन्। उनीहरूलाई कैद सजाय तथा जरिवाना असुलका लागि सम्बन्धित अदालतमा बुझाइएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका फरार प्रतिवादीबाट आठ वर्ष सात महिना ११ दिन कैद र ३७ लाख ९६ हजार ५२० रुपैयाँ बिगो तथा जरिवाना असुल गरिएको छ।
प्रहरीले चेक अनादर, बिगो लेनदेन, बैङ्किङ कसुर, सवारी ज्यान, अभद्र व्यवहारलगायत विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
फरार प्रतिवादीलाई कानुनी कारवाहीको दायरामा ल्याउने अभियानलाई पछिल्लो समय तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कास्कीमा साउन महिनामा चालु मुद्दाका १८१ जना प्रतिवादीसमेत पक्राउ परेका छन्। सो अवधिमा अपराधसँग सम्बन्धित कुल १६८ मुद्दा दर्ता भएका थिए।
प्रहरीका अनुसार दर्ता भएकामध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका १३ र आर्थिक अपराधका ५३ मुद्दा छन्। अन्य प्रकृतिका अपराधसँग सम्बन्धित ८२ मुद्दा दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयले अदालतबाट फैसला भइसकेका तर फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।





