१७ भाद्र २०८३, बुधबार

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारीको ‘टाइम कार्ड’ अवधि घटाइयो

ड्रागन मिडिया सम्वाददाता

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोष्टसम्म सवारीसाधनका लागि लागू गरिएको ‘टाइम कार्ड’को अवधि घटाइएको छ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो।

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार प्रतिघण्टा ४० किलोमिटरको गतिमा १४.२ किलोमिटर दूरी पार गर्न यसअघि न्यूनतम २४ र अधिकतम २८ मिनेटको समय निर्धारण गरिएको थियो। अब उक्त अवधि घटाएर न्यूनतम २१ र अधिकतम २४ मिनेट कायम गरिएको छ।

कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्र शाहका अनुसार अध्ययनबाट निर्धारित गतिसीमाभित्र रहेर उक्त दूरी २१ देखि २४ मिनेटमा पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको हो।

बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र वडा नम्बर १२ का वडाध्यक्ष शाहलगायत सहभागी थिए।

बैठकले राजमार्गमा सवारी आवागमन सहज बनाउनुका साथै मानव–वन्यजन्तु सहअस्तित्व, सडक सुरक्षा र पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

निकुञ्ज क्षेत्र भएर जाने राजमार्गका विभिन्न स्थानमा वन्यजन्तु संरक्षण, सडक दुर्घटना न्यूनीकरण तथा पर्यटकलाई आवश्यक जानकारी दिने सूचना र संकेत बोर्ड राखिनेछ। यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच समन्वय तथा सहकार्य गरिने भएको छ।

बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको प्रमुख पर्यटन गन्तव्यका रूपमा थप प्रचारप्रसार गर्ने निर्णयसमेत गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी जमुनाहा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहलगायत स्थानमा निकुञ्जसम्बन्धी ठूला होर्डिङ तथा सूचना बोर्ड राख्ने तयारी गरिएको छ।

निकुञ्ज संरक्षण, सुरक्षित सवारी आवागमन, पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई एकअर्कासँग जोडेर अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button