१८ भाद्र २०८३, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै

ड्रागन मिडिया सम्वाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता भट्ट संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा (४) अनुसार त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको व्यवस्था गर्न आग्रह गरेका थिए। सोहीअनुसार आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्नेछ।

बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइनेछ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका भट्टलाई विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत सहज देखिएको छ। हाल सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य कायम छन् र बहुमतका लागि २७ मत आवश्यक पर्छ।

प्रदेशसभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्य छन्। नेकपा र एमालेसँग संयुक्त रूपमा ३३ सदस्य रहेकाले गठबन्धनसँग आवश्यक बहुमतभन्दा बढी संख्या छ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिएपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

सुदूरपश्चिममा दुई राज्यमन्त्री र सात मन्त्रीसहित १० सदस्यीय मन्त्रीपरिषद रहने व्यवस्था छ। हाल सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री मात्र छन्।

मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।

विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरी बाँकी मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्ने तयारी सरकारको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button