सांसदको भाषा र सरकारप्रतिको आलोचनाबारे छलफल गर्न रविले बोलाए बैठक

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबाट प्रतिनिधिसभामा रहेका सांसद र मन्त्रीहरूको बैठक बोलाएका छन्।
आज बिहान ११ बजे बस्ने बैठकमा संसद् तथा संसदीय समितिमा रास्वपाका केही सांसदले प्रयोग गरेको भाषा, प्रस्तुतिको शैली र संसदीय मर्यादाबारे उठेका प्रश्नमा छलफल हुने पार्टी स्रोतले जनाएको छ।
पछिल्लो समय रास्वपाका केही सांसदका अभिव्यक्ति र व्यवहारलाई लिएर सार्वजनिक तथा पार्टीभित्रै प्रश्न उठेपछि सभापति लामिछानेले सांसदहरूलाई संसदीय भूमिका र आचरणबारे आवश्यक निर्देशन दिने तयारी गरेका हुन्।
बैठकमा सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूलाई समेत बोलाइएको छ। पार्टीकै केही सांसदले सरकार र मन्त्रीहरूको कार्यशैलीमाथि संसदबाट आलोचना गर्न थालेपछि त्यसको कारण र पार्टी तथा सरकारबीचको समन्वयबारे पनि छलफल हुने बताइएको छ।
रास्वपाका सांसदहरूले संसदमा सरकारका कामकारवाहीबारे प्रश्न उठाउन थालेपछि सत्तारुढ दलभित्र सरकार र संसदीय दलबीचको समन्वयको विषय चर्चामा आएको छ।
यसअघि पनि सभापति लामिछानेले पार्टीका सांसदहरूलाई संसदीय भूमिका, जनतासँगको सम्बन्ध, मन्त्रीसँगको समन्वय र सार्वजनिक अभिव्यक्तिमा जिम्मेवार बन्न निर्देशन दिएका थिए।
आजको बैठकमा सांसदले सरकारमाथि उठाएका प्रश्न, मन्त्रीहरूको जवाफदेहिता, संसदीय मर्यादा तथा पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्दा अपनाउनुपर्ने शैलीबारे स्पष्ट निर्देशन दिने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।





