रुस–बंगलादेश गहुँ व्यापार र ऊर्जा सहकार्यबारे ‘आधारहीन समाचार’को रुसी दूतावासद्वारा खण्डन

ड्रागन मिडिया समाचार कक्ष
ढाकास्थित रुसी दूतावासले रुसबाट बंगलादेशले सरकार–सरकार तहमा गर्ने गहुँ आयात तथा दुई देशबीचका प्रमुख ऊर्जा परियोजनाबारे बंगलादेशी सञ्चारमाध्यममा आएका केही समाचारलाई ‘पक्षपाती र आधारहीन’ भन्दै खण्डन गरेको छ।
दूतावासले जारी गरेको वक्तव्यमा त्यस्ता विवरणले रुस र बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध तथा बंगलादेशको खाद्य र ऊर्जा सुरक्षामा रुसी योगदानबारे भ्रम सिर्जना गर्ने दाबी गरिएको छ।
दूतावासका अनुसार रुस र बंगलादेश सरकारबीच हुने गहुँ खरिद प्रक्रिया तोकिएका सरकारी निकायमार्फत अन्तरसरकारी सम्झौताको ढाँचाभित्र सञ्चालन हुन्छ। खरिद मूल्य वा करार कार्यान्वयनमा अनधिकृत तेस्रो पक्ष वा बिचौलियाको हस्तक्षेपको सम्भावना नरहेको रुसी पक्षको भनाइ छ।
रुसबाट निर्यात हुने कृषि वस्तु अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य मापदण्ड तथा बंगलादेशले निर्धारण गरेका प्राविधिक शर्तअनुसार गुणस्तर परीक्षणपछि मात्रै पठाइने दूतावासले जनाएको छ। रुसका सम्बन्धित सरकारी निरीक्षण निकायबाट प्रमाणित भएपछि पनि चटगाउँ बन्दरगाहमा बंगलादेशको खाद्य महानिर्देशनालय र बन्दरगाह अधिकारीले भौतिक तथा प्रयोगशाला परीक्षण गर्ने व्यवस्था रहेको वक्तव्यमा उल्लेख छ।
यस आधारमा कम गुणस्तरको वा मापदण्डविपरीत गहुँ आपूर्ति गरिएको भन्ने आरोप निराधार रहेको दूतावासले दाबी गरेको छ। गहुँको उत्पत्तिबारे उठाइएका प्रश्नलाई पनि उसले अस्वीकार गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नै वैध कृषि क्षेत्रबाट उत्पादित अन्न निर्यात गर्ने जनाएको छ।
दूतावासले खाद्य सुरक्षासँगै ऊर्जा क्षेत्रलाई पनि रुस–बंगलादेश रणनीतिक सहकार्यको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ।
रुसी सरकारी परमाणु ऊर्जा निगम रोसाटोम र सम्बद्ध कम्पनीहरूले रुपपुर परमाणु विद्युत केन्द्र अन्तर्राष्ट्रिय प्राविधिक, वित्तीय तथा सुरक्षा मापदण्डअनुसार निर्माण गरिरहेको दूतावासको भनाइ छ। परियोजनामा अनधिकृत बाह्य हस्तक्षेप वा वित्तीय अनियमितताको आरोपलाई पनि उसले अस्वीकार गरेको छ।
त्यसैगरी गाजप्रोम ईपी इन्टरनेसनलले सन् २०१२ देखि बंगलादेशको घरेलु ऊर्जा उत्पादन विस्तारमा सहयोग गर्दै आएको दूतावासले जनाएको छ। कम्पनीले भोलासहित विभिन्न क्षेत्रमा २० भन्दा बढी ग्यास इनारको काम सम्पन्न गरेको र त्यसले घरेलु ग्यास उत्पादन तथा औद्योगिक र विद्युत क्षेत्रको माग पूरा गर्न योगदान दिएको वक्तव्यमा उल्लेख छ।
रुसले बंगलादेशलाई महत्वपूर्ण र विश्वासिलो रणनीतिक साझेदारका रूपमा हेर्दै आएको उल्लेख गर्दै दूतावासले विश्वव्यापी आर्थिक तथा ऊर्जा सुरक्षा चुनौतीबीच पनि उच्च गुणस्तरका कृषि उत्पादन र ऊर्जा प्रविधि उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
दूतावासले सञ्चारमाध्यमलाई द्विपक्षीय व्यापार तथा रणनीतिक परियोजनाबारे समाचार प्रकाशन गर्दा प्रमाणित तथ्यमा आधारित भएर व्यावसायिक सावधानी अपनाउन आग्रह गरेको छ।





