रुस–साइप्रस कूटनीतिक सम्बन्धको ६६ वर्ष: ऐतिहासिक मित्रता अझै बलियो रहेको रुसी राजदूतको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
साइप्रसका लागि रुसी राजदूत डा. मुरात जियाजिकभले रुस र साइप्रसबीचको सम्बन्ध गहिरो ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक आधारमा टिकेको भन्दै बाह्य परिस्थितिले दुई देशका जनताबीचको दीर्घकालीन मित्रतालाई कमजोर बनाउन नसक्ने बताएका छन्।
रुस र साइप्रसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६औँ वर्षगाँठका अवसरमा रुसी समाचार संस्था ताससँग कुरा गर्दै जियाजिकभले दुई देशबीचको औपचारिक सम्बन्ध सन् १९६० अगस्ट १८ मा स्थापना भएको स्मरण गरे।
साइप्रसले ब्रिटिश औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरी सन् १९६० अगस्ट १६ मा स्वतन्त्र राष्ट्र घोषणा गरेको दुई दिनपछि तत्कालीन सोभियत संघले उसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। साइप्रसका प्रथम राष्ट्रपति आर्चबिशप माकारियोस तृतीयले नयाँ स्तरको सहकार्यका लागि गरेको प्रस्तावलाई मस्कोले तत्काल सकारात्मक प्रतिक्रिया दिएको राजदूतले बताए।
उनले सन् १९६२ को शुरुवातमा विश्वका पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको विश्व भ्रमणमा साइप्रस समावेश हुनु पनि दुई देशबीचको मित्रताको प्रतीक बनेको उल्लेख गरे।
जियाजिकभका अनुसार रुस र साइप्रसबीचको सम्बन्ध केवल आधुनिक कूटनीतिक सम्पर्कमा सीमित छैन। रुसी नाविक, व्यापारी, धर्मगुरु र तीर्थयात्रीहरूले शताब्दीयौँदेखि साइप्रसमा आश्रय र आत्मीयता अनुभव गर्दै आएको इतिहासले दुई समाजबीच स्थायी सम्बन्ध निर्माण गरेको उनको भनाइ छ।
साइप्रस युरोपेली संघको सदस्य राष्ट्र भएकाले आफ्नो विदेश नीति संघको साझा नीतिअनुसार सञ्चालन गरे पनि राष्ट्रिय तथा स्थानीय तहका अधिकारीहरूले साइप्रसमा बसोबास गर्ने रुसी नागरिकका सांस्कृतिक, राष्ट्रिय तथा स्मृति कार्यक्रमप्रति सम्मान देखाउँदै आएको उनले बताए।
रुसी राजदूतले साहित्य महोत्सव, प्रदर्शनी, चलचित्र प्रदर्शन, विद्यालय तथा विद्यार्थी प्रतियोगिता, कार र्याली र विजय दिवसका अवसरमा आयोजित ठूला कार्यक्रमहरूमा साइप्रसका अधिकारीहरूले सुरक्षा र आवश्यक सहजीकरण गर्दै आएको बताए।
उनले साइप्रसका व्यवसायी, सांस्कृतिक क्षेत्रका प्रतिनिधि, राजनीतिज्ञ र कूटनीतिज्ञहरूमध्ये पनि रुससँग मित्रवत सम्बन्ध राख्ने ठूलो समुदाय रहेको दाबी गरे।
जियाजिकभले आगामी सेप्टेम्बरमा रुसी संघीय संसदको राज्य डुमाका लागि साइप्रसमा पनि मतदानको व्यवस्था गरिने जानकारी दिए। साइप्रसका अधिकारीहरूले त्यहाँ बसोबास गर्ने रुसी नागरिकका लागि निर्वाचनको राजनीतिक महत्व बुझ्ने गरेको उनले बताए।
उनका अनुसार सन् २०२४ मार्चमा भएको रुसी राष्ट्रपति निर्वाचनजस्तै आगामी राज्य डुमा निर्वाचन पनि साइप्रसमा व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
रुसले साइप्रसका अधिकारीहरूले त्यहाँ रहेका रुसी नागरिकप्रति देखाउँदै आएको सम्मान र सहयोगलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै जियाजिकभले दुई देशका जनताबीचको ऐतिहासिक विश्वास भविष्यमा पनि कायम रहने विश्वास व्यक्त गरे।





