१८ भाद्र २०८३, बिहीबार

कुरिल टापु अवतरण अभियानको ८१ वर्ष: सोभियत सैन्य कारवाही र सुदूरपूर्वको रणनीतिक परिवर्तन

ड्रागन मिडिया समाचार कक्ष

दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत सेनाले जापानी सैन्य उपस्थितिविरुद्ध शुरु गरेको कुरिल टापु अवतरण अभियानको ८१औँ वर्षगाँठ रुसले स्मरण गरेको छ।

रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको ऐतिहासिक विवरणअनुसार सन् १९४५ अगस्ट १८ मा मन्चुरियन रणनीतिक आक्रमण अभियानकै क्रममा सोभियत सेनाले कुरिल टापु श्रृंखलामा उभयचर सैन्य कारवाही शुरु गरेको थियो।

अभियानको तयारी अत्यन्त छोटो समयमा गरिएको थियो। कामचाट्का रक्षा क्षेत्रका कमान्डर मेजर जनरल अलेक्सी ग्नेच्कोलाई अगस्ट १५ मा आक्रमणको आदेश दिइएको थियो र दुई दिनपछि सैन्य कारवाही शुरु भयो।

सोभियत योजनाअनुसार शुम्शु टापुको उत्तरपश्चिमी तटमा आकस्मिक अवतरण गरी काटाओका नौसैनिक आधारमाथि मुख्य प्रहार गर्ने तयारी गरिएको थियो। शुम्शुमाथि नियन्त्रण कायम गरेपछि परमुशिर, ओनेकोतानलगायत अन्य कुरिल टापुतर्फ अभियान विस्तार गर्ने लक्ष्य थियो।

रुसी विवरणमा जापानी सेनाले विशेषगरी शुम्शु र परमुशिरमा बलियो किल्लाबन्दी, बङ्कर, तोपखाना तथा कङ्क्रिट संरचना निर्माण गरेको उल्लेख छ।

अगस्ट १८ को रात शुरु भएको अवतरण अभियानमा सोभियत सैनिकहरूले समुद्रमा करिब दुई मिटरसम्मको पानी पार गर्दै जापानी तोपखानाको आक्रमणबीच तटमा पुग्नुपरेको थियो। मुख्य सैन्य समूहले तीव्र प्रतिरोधको सामना गरे पनि सोही दिन साँझसम्म सोभियत सेनाले रणनीतिक रूपमा महत्वपूर्ण उचाइ १६५ र १७१ नियन्त्रणमा लिएको रुसी पक्षको विवरण छ।

अगस्ट १९ को बिहान जापानी सेनाको आत्मसमर्पणसम्बन्धी वार्ता शुरु भएको र अगस्ट २३ देखि ठूलो सङ्ख्यामा सैनिकहरूले आत्मसमर्पण गर्न थालेको जनाइएको छ। सोभियत प्रशान्त बेडाको सहभागितामा अगस्ट २४ देखि सेप्टेम्बर १ सम्म कुरिल टापु श्रृंखलामा सोभियत नियन्त्रण स्थापित भएको थियो।

सन् १९४५ सेप्टेम्बर २ मा जापानले औपचारिक रूपमा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भयो। त्यस दिन सोभियत नेता जोसेफ स्टालिनले सोभियत जनतालाई सम्बोधन गर्दै दक्षिणी सखालिन र कुरिल टापु सोभियत संघअन्तर्गत आएको घोषणा गरेका थिए।

रुसी विदेश मन्त्रालयले कुरिल अवतरण अभियानले सुदूरपूर्वको रणनीतिक परिस्थिति परिवर्तन गरेको, जापानी सैन्य क्षमतालाई कमजोर पारेको र प्रशान्त क्षेत्रमा सोभियत संघको सुरक्षा तथा सैन्य उपस्थितिलाई सुदृढ बनाएको जनाएको छ।

कुरिल टापु श्रृंखलाको दक्षिणी भागको सार्वभौमिकतासम्बन्धी प्रश्न भने युद्धपछिको रुस–जापान सम्बन्धमा लामो समयदेखि विवादित विषय रहँदै आएको छ। रुसले ती टापु आफ्नो भूभागको अभिन्न हिस्सा मान्दै आएको छ भने जापानले दक्षिणी चार टापुमाथि दाबी गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button