१८ भाद्र २०८३, बिहीबार

उत्पादनबाट नवप्रवर्तनतर्फ चीन: नयाँ प्रविधि खोज्दै विदेशी व्यवसायीको बढ्दो आगमन

ड्रागन मिडिया समाचार कक्ष

चीनमा किनमेलका लागि खाली सुटकेस लिएर आउने विदेशी पर्यटकको प्रवृत्तिपछि अब नयाँ प्रविधि, व्यावसायिक समाधान र भावी पुस्ताका उत्पादन खोज्दै विदेशी कम्पनीका प्रतिनिधि चीन पुग्ने क्रम बढेको छ।

विशेषगरी कृत्रिम बुद्धिमत्ता, रोबोट प्रविधि, नयाँ ऊर्जा र फोटोभोल्टाइक क्षेत्रमा विदेशी कम्पनीहरूले चिनियाँ अनुसन्धान केन्द्र, प्रयोगशाला, प्रदर्शनी केन्द्र र उत्पादन शृंखलाको प्रत्यक्ष अध्ययन गर्न थालेका छन्।

क्वाङतोङ प्रान्तको शनचनस्थित Shenzhen Institute of Artificial Intelligence and Robotics for Society का Embodied AI निर्देशक लिउ शाओशानका अनुसार पछिल्लो समय जर्मनी, बेलायत, दक्षिणपूर्वी एसिया र दक्षिण कोरियासहित विभिन्न क्षेत्रका कम्पनीका प्रतिनिधिले संस्थाको भ्रमण गरेका छन्।

उनका अनुसार विदेशी प्रतिनिधिहरूले विशेषगरी चीनमा कृत्रिम बुद्धिमत्ता र रोबोट प्रविधिको विकास किन यति तीव्र भयो र त्यसबाट आफ्नो व्यवसायमा के सिकेर लागू गर्न सकिन्छ भन्ने विषयमा चासो देखाउने गरेका छन्।

शनचन आउने व्यावसायिक प्रतिनिधिले रोबोट बिक्री तथा सेवा केन्द्र, प्रदर्शनी कक्ष र प्रविधि कम्पनीको भ्रमण गरी सम्भावित साझेदारीबारे प्रत्यक्ष छलफल गर्ने गरेका छन्।

सांघाईस्थित TARS Robotics का प्रमुख कार्यकारी अधिकृत छन यिलुनका अनुसार उत्तरी युरोपको एक मोटर वाहन आपूर्ति कम्पनीका अनुसन्धान तथा विकास निर्देशक नौ महिनाभित्र तीनपटक कम्पनी भ्रमणमा आएका थिए। प्रत्येक तीन महिनाको अन्तरमा आउँदा अघिल्लो भ्रमणमा अवधारणाका रूपमा रहेका प्रविधि अर्को भ्रमणसम्म वास्तविक प्रयोगमा आइसकेको उनले बताएका छन्।

तेस्रो भ्रमणमा उक्त विदेशी कम्पनीले आफ्नो वार्षिक विश्वव्यापी नवप्रवर्तन सम्मेलन नै TARS को प्रयोगशालामा आयोजना गरेको थियो।

यस्तै प्रवृत्ति सौर्य प्रविधिमा पनि देखिएको छ। चिनियाँ फोटोभोल्टाइक उत्पादक LONGi सँग प्राविधिक सहकार्य गरेका बेल्जियमको Innoptus Solar Team र नेदरल्यान्ड्सको Delft Solar Team ले सन् २०२६ को American Solar Challenge मा पहिलो र दोस्रो स्थान हासिल गरेका थिए।

दुवै टोलीले चीनमा LONGi का अनुसन्धान तथा विकास इञ्जिनियर र उत्पादन टोलीसँग मिलेर आफ्ना सौर्य गाडीका लागि पृथक प्रविधि विकास गरेका थिए। बेल्जियमको टोलीले अनुकूलित उच्च दक्षतायुक्त लचिलो सौर्य मोड्युल प्रयोग गरेको थियो भने नेदरल्यान्ड्सको टोलीले उच्च दक्षताको सौर्य सेल प्रविधि अपनाएको थियो।

विश्लेषकहरूका अनुसार यस्तो प्रवृत्तिले विश्व उत्पादन केन्द्रका रूपमा परिचित चीनको भूमिका विस्तार भएर प्रविधि र समाधान विकास गर्ने नवप्रवर्तन केन्द्रतर्फ सर्दै गएको संकेत गर्छ।

चीनको पूर्ण औद्योगिक प्रणाली, सघन आपूर्ति शृंखला र विशाल बजारले नयाँ प्रविधिलाई अवधारणाबाट परीक्षण र व्यावसायिक उत्पादनसम्म छिटो पुर्‍याउन सहयोग गरेको विज्ञहरूको भनाइ छ।

रोबोट निर्माता Agibot को करिब ९० प्रतिशत पुर्जा याङ्सी नदी डेल्टा क्षेत्रमै प्राप्त हुने उदाहरण दिइन्छ। नयाँ ऊर्जा सवारीसाधनका लागि आवश्यक पूर्ण उत्पादन शृंखला आनहुई प्रान्तभित्रै उपलब्ध रहेको तथा सांघाईमा मस्तिष्क र कम्प्युटर अन्तरसम्बन्धी प्रविधि कम्पनीहरू एउटै क्षेत्रमा केन्द्रित हुँदै गएका छन्।

विश्व बौद्धिक सम्पत्ति संगठनको Global Innovation Index 2025 अनुसार चीन पहिलोपटक विश्वका शीर्ष १० नवप्रवर्तनशील अर्थतन्त्रमा प्रवेश गरेको थियो। नवप्रवर्तन उत्पादनतर्फ चीन पाँचौँ स्थानमा रहेको थियो।

विश्वका शीर्ष १०० नवप्रवर्तन क्लस्टरमध्ये २४ चीनमा छन्। यस सूचकमा चीन लगातार तेस्रो वर्ष सबैभन्दा धेरै शीर्ष नवप्रवर्तन क्लस्टर भएको देश बनेको थियो।

विशेषज्ञहरूका अनुसार यस्ता क्लस्टरको महत्व पेटेन्ट र अनुसन्धानपत्रको सङ्ख्यामा मात्र सीमित छैन। प्रतिभा, उत्पादन तथा आपूर्ति शृंखला, लगानी, अनुसन्धान संस्था र वास्तविक प्रयोगका क्षेत्र एकै भूगोलमा जोडिनुले प्रविधिको विकास र व्यावसायिक प्रयोगको गति बढाएको छ।

चीनको विशाल बजारले नयाँ प्रविधिलाई विभिन्न वास्तविक परिस्थितिमा परीक्षण गर्ने अवसरसमेत प्रदान गर्छ। यसबाट विदेशी कम्पनीले चीनमा परीक्षण र परिष्कृत भएका समाधानलाई आफ्ना बजारमा लैजान सक्ने वातावरण बनेको विश्लेषकहरूको भनाइ छ।

विदेशी व्यवसायी चीन आउनुको उद्देश्य अब सस्तो उत्पादन वा करारमा सामान बनाउने साझेदार खोज्नुमा मात्र सीमित नरहेको देखिन्छ। नयाँ प्रविधि कहाँ विकास भइरहेको छ, त्यसलाई कति छिटो उत्पादनमा रूपान्तरण गर्न सकिन्छ र विश्व बजारमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने खोजी चीनतर्फको नयाँ व्यावसायिक आकर्षणको प्रमुख आधार बन्दै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button