१८ भाद्र २०८३, बिहीबार

पूर्व चिनियाँ प्रधानमन्त्री झु रोङ्जीको बेइजिङमा अन्त्येष्टि, सीसहित शीर्ष नेताद्वारा श्रद्धाञ्जली

ड्रागन मिडिया समाचार कक्ष

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको पार्थिव शरीर मंगलबार बेइजिङमा अन्त्येष्टि गरिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसहित कम्युनिस्ट पार्टी र राज्यका शीर्ष नेताहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।

बेइजिङस्थित पापाओसान क्रान्तिकारी समाधिस्थलमा मंगलबार बिहान आयोजित विदाइ समारोहमा राष्ट्रपति सीसँगै प्रधानमन्त्री ली छ्याङ, चाओ लची, वाङ हुनिङ, साइ छी, तिङ स्युएस्याङ, ली सी र उपराष्ट्रपति हान चङ सहभागी थिए।

शोक धुनबीच नेताहरूले झुको पार्थिव शरीरअगाडि मौनधारण गरेका थिए। त्यसपछि उनीहरूले तीनपटक शिर निहुराएर श्रद्धाञ्जली अर्पण गर्दै परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका थिए।

चीनका पूर्वराष्ट्रपति हु चिनथाओले झुको निधनप्रति शोक व्यक्त गर्दै पुष्पहार पठाएका थिए।

झुको अगस्ट १२ मा बेइजिङमा बिरामीका कारण ९८ वर्षको उमेरमा निधन भएको थियो।

उनले चिनियाँ कम्युनिस्ट पार्टीको १४औँ र १५औँ केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्यका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनले चीनको राज्य परिषदको प्रधानमन्त्रीका रूपमा समेत नेतृत्व गरेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, राष्ट्रिय जनकंग्रेस स्थायी समिति, राज्य परिषद र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिले संयुक्त रूपमा जारी गरेको शोक वक्तव्यमा झुलाई उत्कृष्ट पार्टी सदस्य, लामो समयदेखि परीक्षित तथा निष्ठावान कम्युनिस्ट योद्धा, उत्कृष्ट सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ तथा पार्टी र राज्यका नेता भनेर स्मरण गरिएको छ।

झु अस्पतालमा उपचाररत रहँदा राष्ट्रपति सीसहित शीर्ष नेताहरूले उनलाई भेटेका वा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। निधनपछि पनि उनीहरूले विभिन्न माध्यमबाट परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

झुको अन्त्येष्टिका दिन चीनले राष्ट्रिय शोक प्रकट गर्दै थ्येनआनमन चोक, जनबृहत् सभाभवन, विदेश मन्त्रालय, प्रान्तीय सरकारका कार्यालय, हङकङ र मकाओ विशेष प्रशासनिक क्षेत्र, सीमा नाका, बन्दरगाह, विमानस्थल तथा विदेशस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button