१८ भाद्र २०८३, बिहीबार

चीन–इक्वेडर विकास रणनीति समन्वयमा सीको जोड, नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र इक्वेडरबीच विकास रणनीतिको समन्वय थप सुदृढ गर्दै बेल्ट एन्ड रोड संयुक्त निर्माणसम्बन्धी सहकार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

बेइजिङस्थित जनबृहत् सभाभवनमा मंगलबार इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआसँग भएको वार्तामा सीले ऊर्जा, खनिज, पूर्वाधार र वित्त क्षेत्रमा चलिरहेका परियोजनालाई अघि बढाउँदै डिजिटल अर्थतन्त्र, हरित विकास, नयाँ ऊर्जा र कृत्रिम बुद्धिमत्ताजस्ता क्षेत्रमा नयाँ सहकार्य विस्तार गर्नुपर्ने बताए।

नोबोआ राष्ट्रपति सीको निमन्त्रणामा अगस्ट १६ देखि २३ सम्म चीनको राजकीय भ्रमणमा छन्।

यस वर्ष चीन र इक्वेडरबीच व्यापक रणनीतिक साझेदारी स्थापना भएको १० वर्ष पूरा भएको उल्लेख गर्दै सीले अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै भए पनि चीनले इक्वेडरसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्दै आएको बताए।

उनले दुवै देशका सरकार, संसद र राजनीतिक दलबीच आदानप्रदान बढाउनुका साथै शासन र विकाससम्बन्धी अनुभव साझेदारी विस्तार गर्न चीन इच्छुक रहेको बताए।

सीले चीन–इक्वेडर स्वतन्त्र व्यापार सम्झौताबाट प्राप्त अवसरलाई अझ प्रभावकारी बनाउँदै त्यसको लाभ बढी व्यवसायी र उपभोक्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

चीन स्वास्थ्य सेवा, गरिबी न्यूनीकरण, विपद रोकथाम तथा जोखिम न्यूनीकरणलगायत क्षेत्रमा पनि इक्वेडरसँग सहकार्य विस्तार गर्न तयार रहेको उनले बताए।

राष्ट्रपति नोबोआले चीनलाई इक्वेडरको महत्वपूर्ण साझेदार र मित्रको संज्ञा दिँदै दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बताए।

उनले चीनसँग राजनीतिक आपसी विश्वास अझ बलियो बनाउन इक्वेडर इच्छुक रहेको बताए। चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणप्रति समर्थन जनाउँदै उनले ताइवानसम्बन्धी चीनको अडानलाई इक्वेडरले सम्मान गर्ने बताए।

नोबोआले अर्थतन्त्र तथा व्यापार, वित्त, खनिज, नवीकरणीय ऊर्जा, विज्ञान तथा प्रविधि र संस्कृतिलगायत क्षेत्रमा पारस्परिक लाभको सहकार्य विस्तार गर्न चाहेको उल्लेख गरे।

इक्वेडरले चीनतर्फ आफ्नो निर्यात बढाउन चाहेको र थप चिनियाँ कम्पनीलाई लगानी तथा व्यवसाय सञ्चालनका लागि स्वागत गर्ने उनले बताए।

दुई राष्ट्रपतिबीच लातिन अमेरिका तथा क्यारेबियन क्षेत्रको अवस्थाबारे पनि विचार आदानप्रदान भएको थियो।

सीले लातिन अमेरिकी मुलुकहरूले आफ्ना राष्ट्रिय हितका आधारमा स्वतन्त्र रूपमा विदेश सहकार्य छनोट गर्न पाउनुपर्ने बताए। उनले लातिन अमेरिका तथा क्यारेबियन क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्नुपर्ने तथा बाह्य हस्तक्षेपबाट त्यस क्षेत्रको विकास र पुनरुत्थान प्रक्रियामा अवरोध आउन नहुने धारणा राखे।

वार्तापछि दुवै राष्ट्रपतिले हरित उद्योग, आर्थिक तथा व्यापारिक सहकार्य, डिजिटल अर्थतन्त्र र जनजीविकासहित विभिन्न क्षेत्रमा भएका सहकार्य सम्झौताको हस्ताक्षर समारोहमा सहभागिता जनाए।

वार्ताअघि राष्ट्रपति सीले नोबोआको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना गरेका थिए भने साँझ राजकीय स्वागत भोजसमेत आयोजना गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button