१७ भाद्र २०८३, बुधबार

कैलालीको सामुदायिक वनमा गोली लागेको अवस्थामा युवक मृत फेला

ड्रागन मिडिया सम्वाददाता

कैलालीको बर्दगोरिया गाउँपालिका–३ बौनियाका एक युवक छातीमा गोली लागेको अवस्थामा सामुदायिक वनभित्र मृत फेला परेका छन्। घटनास्थलमा भरुवा बन्दुकसमेत भेटिएको छ।

मृतक बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा हुन्। उनी मंगलबार साँझ करिब साढे ८ बजे स्थानीय लालीगुँरास सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार विश्वकर्माको बायाँ छातीमा गोली लागेको जस्तो देखिने घाउ छ। घटनास्थलबाट भरुवा बन्दुक बरामद गरी घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बर्दगोरिया गाउँपालिका–३ का वडाध्यक्ष मनऋषि आचार्यका अनुसार विश्वकर्मा सिकारका लागि जङ्गल गएको बुझिएको छ। यद्यपि गोली कसरी चल्यो र मृत्यु दुर्घटनावश भएको हो वा अन्य कारण रहेको छ भन्ने विषय प्रहरीले पुष्टि गरिसकेको छैन।

विश्वकर्माको शव परीक्षणका लागि बौनियास्थित दोदोधारा अस्पतालमा राखिएको छ। शव परीक्षण र प्रहरी अनुसन्धानपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button