१८ भाद्र २०८३, बिहीबार

रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठकमा ढिलाइ, हर्क साम्पाङको व्यङ्ग्य

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि निर्धारित समयमा प्रतिनिधिसभाको बैठक शुरु हुन सकेको छैन।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर सिंहदरबारमा बिहानदेखि जारी रास्वपाको सांसद तथा मन्त्रीहरूको बैठक लम्बिएसँगै सदनको बैठकमा ढिलाइ भएको हो।

पार्टीका सांसदको संसदीय प्रस्तुति, भाषा र मर्यादामाथि प्रश्न उठ्नुका साथै आफ्नै सांसदले सरकारको कार्यशैलीमाथि आलोचना गर्न थालेपछि सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूको संयुक्त बैठक बोलाएका हुन्।

बैठकमा सांसदहरूले संसद र संसदीय समितिमा उठाएका विषय, मन्त्री र सांसदबीचको समन्वय तथा सरकारको कामकारवाहीबारे छलफल भइरहेको छ। संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयसमेत भएको छ।

रास्वपाको बैठक जारी रहँदा प्रतिनिधिसभा बैठक शुरु हुन नसकेकोमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै उनले लेखेका छन्, ‘हामी यस्तै त हो नि हौ ब्रो…।’

बैठक शुरु हुने निश्चितता नदेखिएपछि साम्पाङले ग्यासको लाइनमा बस्न जानुपर्ने हो कि भन्दैसमेत व्यङ्ग्य गरेका छन्।

निर्धारित समयमा सदन सञ्चालन हुन नसकेको विषयलाई लिएर सांसदबाटै असन्तुष्टि व्यक्त भएपछि संसदीय समय व्यवस्थापन र सत्तारुढ दलको आन्तरिक बैठकले सदनको कामकारवाहीमा पारिरहेको प्रभावबारे समेत प्रश्न उठेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button