१८ भाद्र २०८३, बिहीबार

‘भोट फिर्ता लैजानुस्’ भनेको जोक हो : गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले गोरखाका मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति जोकका रूपमा गरिएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि बुधबार बाहिरिने क्रममा सञ्चारकर्मीले ‘भोट फिर्ता कसरी गर्ने?’ भनेर प्रश्न गरेपछि गुरुङले उक्त अभिव्यक्तिलाई गम्भीर राजनीतिक भनाइका रूपमा नलिन आग्रह गरे।

उनले भने, ‘जोक गरेको विषय हो। हामीले जोक गरेको विषयलाई त्यत्रो ठूलो बनाउने हो?’

सञ्चारकर्मीले ‘भनेपछि जोक हो?’ भनेर पुनः प्रश्न गर्दा उनले पार्टीभित्र तथा आफ्ना मानिसबीच भएको कुराकानीको प्रसङ्ग उल्लेख गर्दै भने, ‘हामी भित्र बसेर गरेको सल्लाह जोक होइन त। हामी आफ्ना पार्टीका बीच बसेर गरेको कुरा।’

गुरुङको उक्त अभिव्यक्ति गोरखा क्षेत्र नम्बर १ अन्तर्गत शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग भएको संवादका क्रममा आएको थियो। स्थानीयले चुनावका बेला स्वास्थ्य प्रयोगशाला स्थापना लगायतका विषयमा गरिएको प्रतिबद्धता स्मरण गराउँदै कामको प्रगतिबारे प्रश्न गरेका थिए।

त्यस क्रममा गुरुङले सरकार गठन भएको चार महिना मात्र भएको र सरकारको पहिलो बजेट कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको भन्दै तत्काल सबै अपेक्षा पूरा गर्न नसकिने बताएका थिए।

उनले भनेका थिए, ‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ। चार महिनामै कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानु भए हुन्छ।’

उक्त संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘भोट फिर्ता’ सम्बन्धी अभिव्यक्ति व्यापक रूपमा चर्चामा आएको थियो। केहीले निर्वाचित प्रतिनिधिले मतदाताको प्रश्नप्रति संवेदनशील हुनुपर्ने भन्दै आलोचना गरेका थिए भने पूरा संवादको सन्दर्भ हेर्दा भनाइ हाँसोठट्टाकै क्रममा आएको तर्क पनि गरिएको थियो।

गुरुङले तत्काल सबै समस्या समाधान हुन नसक्ने भन्दै सरकारको काम मूल्याङ्कन गर्न समय दिन आग्रह गरेका छन्। आफूलाई विश्वास गर्न नसके आगामी निर्वाचनमा नजिताउन सकिने तर अहिले सरकारलाई काम गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button