१८ भाद्र २०८३, बिहीबार

६३ सांसदको समर्थनसहित किरण थापाले बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

थापाले बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ।

थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन छ। दाबी पेस गर्ने क्रममा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थनपत्रमा हस्ताक्षर गरेका छन्।

हाल १०४ सदस्य कायम रहेको बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपासँग संयुक्त रूपमा ५१ सांसद रहेकाले उनीहरूलाई थप दुई सांसदको समर्थन आवश्यक थियो। राप्रपाका १२ सांसदको समर्थन थपिएपछि थापाको पक्षमा ६३ सांसद पुगेका हुन्, जुन आवश्यक बहुमतभन्दा १० मत बढी हो।

यसअघि राप्रपाले प्रदेश सरकार गठनको सत्ता केन्द्रित गतिविधिमा सहभागी नहुने निर्णय गरेको थियो। तर पछिल्लो राजनीतिक समीकरणमा उसले थापालाई मुख्यमन्त्री बनाउन समर्थन दिएको हो। राप्रपा तत्काल सरकारमा सहभागी हुने वा बाहिरबाट मात्र समर्थन गर्ने भन्ने विषय भने पृथक राजनीतिक निर्णयका रूपमा रहने बताइएको छ।

एमाले र नेकपाबीच केन्द्रमा भएको सत्ता सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने समझदारी भएको थियो। एमालेभित्र मुख्यमन्त्रीका उम्मेदवारबारे केही समय विवाद रहे पनि मंगलबार बसेको संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेतामा कायम राख्दै थापा मगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले पदबाट राजीनामा दिएका थिए।

त्यसपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेस गर्न आह्वान गरेका थिए। थापाले तीन दलको स्पष्ट बहुमतसहित दाबी पेस गरेसँगै बागमती प्रदेशमा एमाले नेतृत्वको नयाँ सरकार गठनको बाटो खुलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button