आपूर्ति बढ्दा पनि ग्यास अभाव किन ? रास्वपा सांसदको प्रश्न

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेको तथ्याङ्क देखिँदा पनि उपभोक्ताले अभाव किन भोग्नुपरिरहेको हो भन्दै सरकारसँग प्रश्न गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकमा सांसदहरूले वैशाखमा करिब २२ लाख सिलिन्डर बराबर ग्यास आपूर्ति भएकोमा साउनमा करिब ४० लाख सिलिन्डर बराबर पुगेको तथ्याङ्क प्रस्तुत गर्दै आपूर्ति बढ्दा पनि बजारमा अभाव देखिनुको कारण खोजेका हुन्।
साउन महिनामा मात्रै करिब ५ करोड ७३ लाख किलो एलपी ग्यास आयात भएको विवरण छ। उक्त परिमाण मानक सिलिन्डरमा रूपान्तरण गर्दा करिब ४० लाख सिलिन्डर भर्न पुग्छ। सांसदहरूले यति ठूलो परिमाणमा ग्यास उपलब्ध हुँदा पनि उपभोक्ताले लाइन बस्नुपर्ने र सहज रूपमा सिलिन्डर नपाउने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाएका थिए।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार बैठकमा सम्बन्धित मन्त्रीहरूले ग्यास अभाव देखिनुका प्राविधिक तथा व्यवस्थापकीय कारणबारे जानकारी गराउँदै आपूर्ति र वितरण सहज बनाउन भइरहेको प्रयासबारे सांसदहरूलाई जानकारी दिएका थिए।
बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रबाट प्राप्त गुनासा, बजारमा देखिएको ग्यास अभाव तथा सरकारका विभिन्न कामका कमजोरीसमेत उठाएका थिए। मन्त्रीहरूले आआफ्ना मन्त्रालयबाट हालसम्म भएका काम र प्रगतिबारे जानकारी गराएका थिए।
पराजुलीका अनुसार सरकारबाट विभिन्न काम भइरहे पनि त्यसको जानकारी र परिणाम आम नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको विषयमा बैठकले आत्मसमीक्षा गरेको छ। सरकारका कामको प्रभावकारिता र जनतासँगको सञ्चार दुवै सुधार गर्नुपर्ने निष्कर्ष बैठकमा निकालिएको उनले बताए।
बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदलसमेत गठन गरेको छ।
कार्यदललाई सात दिनभित्र आवश्यक प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ। संशोधित विधानमार्फत सांसदहरूको जिम्मेवारी थप स्पष्ट बनाउने, संसद र संसदीय समितिमा मर्यादा कायम गराउने तथा कानुन निर्माण प्रक्रियामा सांसदहरूको सक्रियता बढाउने उद्देश्य राखिएको छ।
पराजुलीका अनुसार जनताका समस्या र सरोकारलाई संसदमा अझ प्रभावकारी रूपमा उठाउने तथा सरकारमा रहेको अवस्थामा पनि सांसदको निगरानी र जवाफदेहिताको भूमिका कमजोर हुन नदिने विषयमा बैठकमा छलफल भएको थियो।
पछिल्लो समय बजारमा ग्यास अभाव देखिएसँगै आपूर्ति परिमाण र वास्तविक वितरणबीचको अन्तरबारे प्रश्न उठिरहेको छ। रास्वपा सांसदहरूले आयात र आपूर्ति पर्याप्त हुँदाहुँदै उपभोक्तासम्म सहज रूपमा ग्यास नपुग्नुको कारण पहिचान गरी वितरण प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।





