१७ भाद्र २०८३, बुधबार

भारतीय गायक नवजोत आहुजा काठमाडौँमा, आज राति क्लब नोभामा प्रस्तुति

ड्रागन मिडिया सम्वाददाता

चर्चित भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि काठमाडौँ आएका छन्।

ठमेलस्थित क्लब नोभाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी मंगलबार काठमाडौँ आइपुगेका हुन्। उनले बुधबार राति नेपाली दर्शकमाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।

आहुजाको यो पहिलो व्यावसायिक नेपाल भ्रमण हो। काठमाडौँ आइपुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल र नेपाली संस्कृतिप्रति आफ्नो आकर्षण रहेको तथा नेपाली दर्शकसँग प्रत्यक्ष भेट्न उत्साहित रहेको बताए।

उनले भने, ‘म पहिलो पटक नेपाल आएको हुँ, तर यो देश मलाई निकै मन पर्छ। यहाँको संस्कृतिबारे पनि केही जानकारी छ। नेपाली दर्शकसँग भेट्न उत्साहित छु।’

आफू नेपाली गीतको श्रोतासमेत रहेको उल्लेख गर्दै उनले नेपालमा प्रस्तुति दिन पाउनु विशेष अनुभव हुने बताए।

क्लब नोभाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवलाई विशेष बनाउन आहुजालाई आमन्त्रण गरेको हो। कार्यक्रम बुधबार राति ८ बजेदेखि शुरु हुने तय भएको छ।

आहुजा विशेषगरी आफ्नो गीत ‘Khat’ बाट चर्चामा आएका हुन्। उक्त गीतको ‘Tere liye mandir jaaun, tere naam ka diya jalaun’ पंक्ति सामाजिक सञ्जाल र डिजिटल संगीत मञ्चमा व्यापक लोकप्रिय बनेको छ।

नेपालमा भारतीय संगीतका श्रोता ठूलो सङ्ख्यामा रहेकाले आहुजाको पहिलो काठमाडौँ प्रस्तुति युवा दर्शकमाझ विशेष आकर्षणको कार्यक्रम बन्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button