कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले प्रदेशमा नयाँ सत्ता समीकरण बनेपछि सरकारलाई दिएको समर्थन कायम नराख्ने निर्णय गरेको हो।
यसअघि कांग्रेस प्रदेश सरकारमा सहभागी थियो। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ राजनीतिक सहमति बनेपछि कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए। अहिले प्रदेश सरकारमा एमाले र नेकपाको सहकार्य रहेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबारको बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो।
समर्थन फिर्तासँगै कांग्रेस अब कोशी प्रदेशसभामा प्रतिपक्षी भूमिकामा रहनेछ।
प्रदेशको सत्ता समीकरण परिवर्तनसँगै कांग्रेस सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेको हो भने एमाले र नेकपाबीचको सहकार्यले प्रदेश सरकारको नयाँ राजनीतिक आधार निर्माण गरेको छ।





