चिनियाँ विदेशमन्त्री वाङ यी दक्षिण कोरिया र इन्डोनेसिया भ्रमणमा

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ विदेशमन्त्री वाङ यी बुधबारदेखि दक्षिण कोरिया र इन्डोनेसियाको चारदिने भ्रमणमा जाने भएका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङले अगस्ट १९ देखि २२ सम्म दुवै देशको भ्रमण गर्नेछन्। दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोको निमन्त्रणामा भ्रमण हुन लागेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले भ्रमणका क्रममा सम्बन्धित देशका नेताहरूसँग द्विपक्षीय सम्बन्ध तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
इन्डोनेसिया भ्रमणका क्रममा वाङले चीन–इन्डोनेसिया व्यापक रणनीतिक संवाद संयन्त्रको पहिलो सम्मेलनको अध्यक्षता गर्नेछन्। दुई देशले सन् २०२५ मा उक्त संयन्त्र स्थापना गर्ने सहमति गरेका थिए।
वाङले चिनियाँ रक्षामन्त्री तोङ च्युनसँग संयुक्त रूपमा चीन–इन्डोनेसिया विदेश तथा रक्षामन्त्रीस्तरीय संयुक्त संवादको दोस्रो बैठकमा पनि सहभागिता जनाउनेछन्।
चीनले इन्डोनेसियासँग स्थापना गरेको विदेश तथा रक्षामन्त्रीस्तरीय संयुक्त संवाद आफ्नो प्रकारको पहिलो संयन्त्र हो। यसको पहिलो बैठक सन् २०२५ अप्रिलमा बेइजिङमा भएको थियो।
दुवै देशले उच्चस्तरीय सम्पर्क, राजनीतिक तथा सुरक्षा सहकार्य, बेल्ट एन्ड रोड सहकार्य, समुद्री सुरक्षा, व्यापार तथा लगानी र बहुपक्षीय समन्वयलाई थप विस्तार गर्ने उद्देश्यसहित संवाद संयन्त्र अघि बढाएका छन्।
दक्षिण कोरिया भ्रमणका क्रममा वाङ र विदेशमन्त्री चोबीच द्विपक्षीय सम्बन्ध, आर्थिक तथा व्यापारिक सहकार्य र कोरियाली प्रायद्वीपसहित उत्तरपूर्वी एसियाको अवस्थाबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
वाङको भ्रमणलाई चीनले दक्षिण कोरियासँगको संवाद सुदृढ गर्ने तथा इन्डोनेसियासँग राजनीतिक, सुरक्षा र रणनीतिक सहकार्यलाई थप संस्थागत गर्ने प्रयासको निरन्तरताका रूपमा हेरिएको छ।





