१८ भाद्र २०८३, बिहीबार

सदनमा आफ्नै सांसदले आलोचना गरेकोमा गृहमन्त्री गुरुङ असन्तुष्ट

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले संसदमा सरकार र आफ्नो कामको आलोचना गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

रास्वपा सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको बैठकमा गुरुङले सरकार वा आफ्नो मन्त्रालयको कामप्रति असन्तुष्टि भए पहिले आन्तरिक रूपमा छलफल गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।

बैठकमा सहभागी एक सांसदका अनुसार गुरुङले पार्टीभित्र समाधान गर्न सकिने विषय संसद वा सार्वजनिक रूपमा उठाउँदा विपक्षी दललाई राजनीतिक रूपमा थप बल पुग्ने धारणा राखेका थिए।

उनले सांसदहरूलाई आफ्नो मन्त्रालयसँग सम्बन्धित समस्या वा काम भए सीधै आफू वा आफ्नो स्वकीय सचिवालयसँग सम्पर्क गर्न सकिने बताएका थिए।

बैठकमा गुरुङले भनेको उद्धृत गर्दै ती सांसदले बताए, ‘सदनमा विरोध नगर्दा हुन्थ्यो कि। आफ्नै माननीयज्यूहरूले बाहिर बोल्दा विपक्षीलाई झन् बल पुगिरहेको छ। मसँग केही विषय भए स्वकीय सचिवलाई डाइरेक्ट कल गर्न सक्नुहुन्छ।’

गुरुङले पार्टीभित्रको असहमति सकेसम्म पार्टीकै संयन्त्रबाट समाधान गर्नु उपयुक्त हुने धारणा राखेको बताइएको छ। बैठकमा उनले संसदमा आफ्नै पार्टीका सांसदबाट निरन्तर आलोचना नहोस् भन्ने चाहना व्यक्त गरेको सहभागी सांसदको भनाइ छ।

पछिल्लो समय रास्वपाका केही सांसदले संसद र संसदीय समितिबाटै सरकारका काम, मन्त्रीहरूको कार्यशैली तथा सार्वजनिक सेवा प्रवाहका विषयमा प्रश्न उठाउँदै आएका छन्। यसले सरकार र सत्तारुढ दलको संसदीय पक्षबीच पर्याप्त समन्वय नभएको चर्चा बढाएको छ।

यही पृष्ठभूमिमा सभापति लामिछानेले मन्त्री र सांसदबीच प्रत्यक्ष छलफल गराउँदै सरकार र संसदीय दलबीच समन्वय बढाउने उद्देश्यले बैठक बोलाएका हुन्।

बैठकमा सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि सूचना गरिएको भए पनि रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएनन्।

बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयका कामबारे जानकारी गराएका थिए भने सांसदहरूले निर्वाचन क्षेत्रमा देखिएका समस्या, नागरिकका गुनासा र सरकारका काममा देखिएका कमजोरीबारे प्रश्न उठाएका थिए।

संसदीय दलभित्रको पछिल्लो छलफलले सत्तारुढ दलका सांसदले सरकारको निगरानी र आलोचना गर्ने संसदीय भूमिकालाई कसरी कायम राख्ने र त्यस्तो आलोचनालाई पार्टी तथा सरकारबीचको समन्वयसँग कसरी सन्तुलित गर्ने भन्ने प्रश्नसमेत सतहमा ल्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button