१८ भाद्र २०८३, बिहीबार

अमेरिका–दक्षिण कोरियाको ‘उल्ची फ्रीडम शिल्ड’ सैन्य अभ्यासको अवधि आधाभन्दा बढी घटाइयो

ड्रागन मिडिया समाचार कक्ष

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास ‘उल्ची फ्रीडम शिल्ड’को अवधि उल्लेख्य रूपमा घटाउने निर्णय गरेका छन्।

यसअघि अगस्ट १७ देखि २७ सम्म ११ दिन सञ्चालन गर्ने तय भएको अभ्यास अब अगस्ट २१ मै समाप्त हुनेछ। यससँगै अभ्यासको अवधि पाँच दिनमा सीमित भएको छ।

दक्षिण कोरियाको संयुक्त चिफ्स अफ स्टाफले अमेरिकी पक्षको प्रस्तावमा अभ्यासको अवधि, आकार र केही गतिविधि समायोजन गर्न दुवै पक्ष सहमत भएको जनाएको छ।

दक्षिण कोरियाली प्रसारक केबीएसले मंगलबार राति सैन्य श्रोतलाई उद्धृत गर्दै अभ्यासको अवधि आधा घटाइने समाचार सार्वजनिक गरेको थियो। बुधबार बिहान दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने तत्काल उक्त विवरण पुष्टि गर्न नसक्ने जनाएको थियो।

पछि संयुक्त चिफ्स अफ स्टाफले औपचारिक रूपमा अभ्यास अगस्ट २१ सम्म मात्र सञ्चालन हुने पुष्टि गरेको हो।

अभ्यासअन्तर्गत तय गरिएका केही संयुक्त मैदानी प्रशिक्षणसमेत घटाइने भएको छ। कुन कुन अभ्यास र गतिविधि परिवर्तन वा स्थगित हुने भन्ने विस्तृत व्यवस्थाबारे दुवै पक्षबीच समन्वय जारी रहेको जनाइएको छ।

‘उल्ची फ्रीडम शिल्ड’ अमेरिका र दक्षिण कोरियाले प्रत्येक वर्ष सञ्चालन गर्ने प्रमुख संयुक्त सैन्य अभ्यास हो। यसमा कमान्ड पोस्ट अभ्यास, कम्प्युटरमा आधारित युद्ध परिदृश्य र विभिन्न मैदानी प्रशिक्षण समावेश हुन्छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि दक्षिण कोरियासँगका संयुक्त सैन्य अभ्यासको आकार घटाउन अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए। त्यसपछि चालु अभ्यासको अवधि र स्वरूप परिवर्तन गरिएको हो।

उत्तर कोरियाले यस्ता संयुक्त अभ्यासलाई आफ्नो सुरक्षाविरुद्धको सैन्य तयारीका रूपमा आलोचना गर्दै आएको छ भने अमेरिका र दक्षिण कोरियाले अभ्यासलाई संयुक्त प्रतिरक्षा तयारी कायम राख्ने उद्देश्यको भन्दै आएका छन्।

अभ्यास बीचमै छोट्याउने निर्णयले कोरियाली प्रायद्वीपको सुरक्षा वातावरणसँगै अमेरिका–उत्तर कोरिया संवाद पुनः शुरु गर्ने सम्भावनाबारे पनि नयाँ कूटनीतिक चर्चा उत्पन्न गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button