१८ भाद्र २०८३, बिहीबार

गाजा युद्धविरामको दोस्रो चरणमा जान प्रतिबद्ध रहेको हमासको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

प्यालेस्टिनी समूह हमासले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ अघि बढ्ने सहमत रोडम्याप र प्रक्रियाप्रति आफू प्रतिबद्ध रहेको पुनः जनाएको छ।

हमासका प्रवक्ता हाजेम कासेमले मंगलबार सिन्ह्वासँग कुरा गर्दै समूहले सहमति भएका व्यवस्थाको पालना गर्ने अडान कायम राखेको बताए। उनका अनुसार दोस्रो चरण कार्यान्वयनमा अघि बढ्न मुख्य अवरोध इजरायलबाट मध्यस्थकर्तालाई रोडम्यापबारे स्पष्ट स्वीकृति नआउनु हो।

अमेरिकी समर्थनमा अघि सारिएको १५ बुँदे रोडम्यापले गाजामा सैन्य गतिविधि रोक्ने, हमाससहित सशस्त्र समूहका हतियार चरणबद्ध रूपमा व्यवस्थापन गर्ने, इजरायली सेना फिर्ता गर्ने र नागरिक प्रशासनमार्फत पुनर्निर्माण अघि बढाउने परिकल्पना गरेको छ।

हमासले रोडम्यापप्रति सहमति जनाए पनि कार्यान्वयनको क्रमलाई लिएर इजरायलसँग गम्भीर मतभेद कायम छ। हमासले युद्धविरामको पूर्ण पालना र इजरायली सेना फिर्ता गर्ने प्रक्रिया अघि बढ्नुपर्ने बताउँदै आएको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म सेना फिर्ता नहुने अडान राखेका छन्।

यसैबीच गाजास्थित हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले गाजा प्रशासन राष्ट्रिय समितिलाई यथाशीघ्र आफ्नो जिम्मेवारी सम्हाल्न आग्रह गरेको छ। कार्यालयले गम्भीर मानवीय अवस्थाबीच समितिलाई गाजा प्रवेश गरी काम शुरु गर्न सबै सम्बन्धित पक्षले सहजीकरण गर्नुपर्ने जनाएको छ।

हमासको पछिल्लो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा दूत जेरेड कुशनर र इजरायली प्रधानमन्त्री नेतन्याहुबीच सोमबार भएको लामो वार्तापछि आएको हो।

कुशनर र नेतन्याहुबीचको वार्तापछि गाजाको निःशस्त्रीकरणसम्बन्धी एउटा र खानेपानी, सरसफाइ, पूर्वाधार तथा सार्वजनिक स्वास्थ्य आवश्यकतासम्बन्धी अर्को कार्यसमूह गठन गर्ने सहमति भएको छ।

तर वार्ताले युद्धविरामको दोस्रो चरण कार्यान्वयनमा रहेको मूल विवाद समाधान गर्न सकेको छैन। इजरायलले पुनर्निर्माण शुरु हुनुअघि हमास पूर्ण रूपमा निःशस्त्र हुनुपर्ने बताएको छ भने हमासले इजरायली सेना फिर्ता र सैन्य कारवाही अन्त्यलाई समानान्तर प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने अडान राखेको छ।

कुशनरले यसअघि इजिप्टमा हमासका राजनीतिक नेता खलिल अल हय्यासँग पनि वार्ता गरेका थिए। अमेरिका, इजिप्ट, कतार र टर्कीलगायत पक्षले रोडम्याप कार्यान्वयन गराएर युद्धविरामलाई दीर्घकालीन राजनीतिक व्यवस्थातर्फ लैजान प्रयास गरिरहेका छन्।

गाजाको भावी प्रशासन, निःशस्त्रीकरणको प्रक्रिया र इजरायली सेनाको फिर्ती कुन क्रममा हुने भन्ने विषय नै अहिले दोस्रो चरणतर्फ अघि बढ्ने प्रयासको मुख्य गाँठो बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button