१८ भाद्र २०८३, बिहीबार

प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न रविलाई एमालेको आग्रह, आन्दोलनको चेतावनी

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपाको प्रमुख राजनीतिक नेतृत्वका हैसियतमा लामिछानेले सरकार पुनर्गठनका लागि पहल गर्नुपर्ने बताएका हुन्।

बादलले भने, ‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ।’

उनले सरकारको कार्यशैलीमा सुधार नआए र पुनर्गठनका लागि पहल नभए आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिए।

राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा वर्तमान सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै बादलले व्यापक जनआन्दोलन हुन सक्ने दाबी गरे।

उनले भने, ‘अन्तिम विकल्प बाँकी छ। अन्यथा, राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल र २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ।’

एमालेको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि प्रमुख प्रतिपक्षी दबाब थप बढेको देखिएको छ। सरकार पुनर्गठन वा प्रधानमन्त्री परिवर्तनको विषय भने सत्तारुढ दलहरूको निर्णय, संसदीय समर्थन र संवैधानिक प्रक्रियासँग सम्बन्धित रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button