१८ भाद्र २०८३, बिहीबार

नेपाली भाषा हाम्रो इतिहास, संस्कृति र सामूहिक पहिचानको जीवन्त आधार हो : सिक्किमका मुख्यमन्त्री तामाङ

ड्रागन मिडिया समाचार कक्ष

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले नेपाली भाषा इतिहास, सभ्यता, संस्कृति, भावना, परम्परा र सामूहिक पहिचानको जीवन्त आधार भएको बताएका छन्।

भाषा मान्यता दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री तामाङले सिक्किमका जनसमुदायसहित विश्वभर रहेका नेपाली भाषाप्रेमीलाई बधाई तथा शुभकामना दिएका छन्।

भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई स्थान दिलाउने ऐतिहासिक उपलब्धिले भाषा, साहित्य, संस्कृति, सभ्यता र पहिचानलाई बलियो आधार प्रदान गरेको उल्लेख गर्दै उनले त्यसका लागि योगदान पुर्‍याउने अग्रज साहित्यकार, भाषाविद्, विद्वान्, स्रष्टा, अभियन्ता, राजनीतिक नेतृत्व तथा भाषा आन्दोलनमा संलग्न सबैप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले मातृभाषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। विशेषगरी नयाँ पुस्तामा आफ्नो भाषाप्रति प्रेम, गौरव र जिम्मेवारीको भावना विकास गर्दै नेपाली भाषाको साहित्यिक, सांस्कृतिक तथा बौद्धिक विरासतलाई थप सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

उनले सिक्किम सरकारले नेपालीसहित राज्यमा बोलिने सबै भाषा तथा विभिन्न समुदायका भेषभूषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनलाई उच्च प्राथमिकता दिँदै आएको बताएका छन्।

सिक्किमको विविधताभित्र रहेको एकता, सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई अझ सुदृढ बनाउँदै भाषा, साहित्य, कला, संस्कृति र परम्पराको संरक्षण तथा विकासका लागि सरकारी पहल र सहयोगलाई निरन्तरता दिइने उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्री तामाङले भाषा मान्यता दिवसले नेपाली भाषाप्रतिको गौरव, आत्मीयता र जिम्मेवारीलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरेका छन्। भावी पुस्तालाई आफ्नो मातृभाषा, संस्कृति र पहिचानप्रति सचेत तथा उत्तरदायी बनाउँदै नेपाली भाषालाई अझ समृद्ध, सशक्त, सम्मानित र जीवन्त बनाउने प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन्।

नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गर्ने संवैधानिक संशोधन सन् १९९२ मा पारित भएको थियो। त्यस ऐतिहासिक उपलब्धिको स्मरणमा भारतका नेपालीभाषी समुदायले प्रत्येक वर्ष अगस्ट २० लाई भाषा मान्यता दिवसका रूपमा मनाउँदै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button