१८ भाद्र २०८३, बिहीबार

ललितपुर महानगरको नागरिक सेवा उदाहरणीय छ : गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले नागरिक सेवा तथा शहरी व्यवस्थापनमा ललितपुर महानगरपालिकाले गरेका काम प्रशंसनीय र अन्य स्थानीय तहका लागि समेत उदाहरणीय रहेको बताएका छन्।

ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरले नागरिक सेवा, कला, संस्कृति र सभ्यताको संरक्षणमा नयाँ सोचसहित काम गरिरहेको बताए।

ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले यी शहरमा पुग्दा नेपालको मौलिकता र गौरव अनुभूति हुने बताए।

गृहमन्त्री गुरुङले ललितपुर महानगरपालिकाले नागरिक सेवा र शहरी व्यवस्थापनमा अपनाएका केही नवीन अभ्यासबाट संघीय सरकार र गृह मन्त्रालयले समेत सिक्न सक्ने धारणा राखे। स्थानीय तहमा सफल भएका नवप्रवर्तनलाई निरन्तरता दिँदै प्रभावकारी अभ्यास अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

उनले आफूमा शासकीय घमण्ड वा सत्ताप्रतिको लोभ नरहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा रहँदासम्म देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले रातिको दृश्यता बढाउनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।

महर्जनले स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा पहिलोपटक ललितपुर महानगरपालिकाले शुरु गरेको दाबी गरे। महानगरले सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री शहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर यस प्रकारको प्रणाली विस्तार गरिरहेको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button