१८ भाद्र २०८३, बिहीबार

भदौ ९ देखि ‘नाडा अटो शो २०२६’, पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन

ड्रागन मिडिया सम्वाददाता

नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण जयन्तीका अवसरमा १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनी करिब तीन लाख वर्गफिट क्षेत्रमा फैलिनेछ। आयोजकका अनुसार शोमा २०० भन्दा बढी स्टल रहनेछन्।

प्रदर्शनीमा २३ ब्रान्डका यात्रुवाहक कार, १७ ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्। त्यस्तै ७० वटा अटो कम्पोनेन्ट स्टल तथा १० वटा वित्तीय र बीमा संस्थाको सहभागिता रहने जनाइएको छ।

नाडाका महासचिव मिलन बाबु मल्लले अटो शो अब सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नरही प्रविधि, उद्योग र रोजगारीलाई जोड्ने बृहत् प्रणालीका रूपमा विकास भइरहेको बताए।

यसै अवधारणाअनुसार यसपटक रोबोटिक्स र कृत्रिम बुद्धिमत्तालाई विशेष आकर्षणका रूपमा समावेश गरिएको छ। आगन्तुकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट अवलोकन गर्न सक्नेछन्। सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गरी कृत्रिम बुद्धिमत्तामार्फत सम्बन्धित गाडीका डिजिटल विवरण प्राप्त गर्न सकिने व्यवस्था पनि गरिएको छ।

यस संस्करणको प्रमुख आकर्षणका रूपमा पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन राखिनेछ। उक्त क्षेत्रमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका मोटरसाइकल र स्कुटरसहित टायर, ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट तथा स्पेयर पार्ट्सलाई प्राथमिकताका साथ प्रदर्शन गरिनेछ।

‘उद्योगदेखि रोजगारसम्म’ भन्ने अवधारणामा केन्द्रित उक्त पहलले स्वदेशी उत्पादन, एसेम्बल उद्योग र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित आपूर्ति श्रृंखलालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको नाडाले जनाएको छ।

नाडाका अनुसार अटोमोबाइल क्षेत्रले राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान पुर्‍याउँदै आएको छ भने यस क्षेत्रमा करिब ११ लाख मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन्।

प्रदर्शनीमा नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरिनुका साथै चार्जिङ पूर्वाधार, विद्युतीय गतिशीलता र दिगो अटोमोबाइल नीतिका विषयमा विचारगोष्ठीसमेत आयोजना गरिनेछ।

छ दिनसम्म चल्ने अटो शोमा करिब दुई लाख दर्शक आउने आयोजकको अनुमान छ।

आगन्तुकको सुविधाका लागि विभिन्न स्थानमा पार्किङ व्यवस्था गरी त्यहाँबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ। स्वास्थ्य टोली, ह्विलचेयर तथा अन्य आवश्यक सेवाको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।

त्यस्तै ‘खल्ती’ मार्फत अग्रिम टिकट खरिद गर्ने आगन्तुकलाई ५० प्रतिशतसम्म नगद फिर्ताको सुविधा उपलब्ध गराइने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button