१८ भाद्र २०८३, बिहीबार

रास्वपा बैठकमा मन्त्रीहरूमाथि सांसदका कडा प्रश्न, तत्काल मन्त्रिपरिषद हेरफेर नहुने

ड्रागन मिडिया सम्वाददाता

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक बैठकमा सांसदहरूले सरकारका विभिन्न मन्त्रीको कार्यशैली, नियुक्ति प्रक्रिया, कर नीति तथा जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा कडा प्रश्न उठाएका छन्।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा करिब २५ सांसदले सरकारको कामकारवाहीबारे धारणा राखेका थिए। बैठकमा सहभागी सांसदहरूका अनुसार अधिकांश वक्ताले सरकार र मन्त्रीहरूको कार्यसम्पादनमा सुधार आवश्यक रहेको बताएका थिए।

सांसद पुकार बमले मन्त्री छनोटको मापदण्डबारे प्रश्न उठाएका थिए। स्वकीय सचिव छनोटसम्म निश्चित मापदण्ड लागू हुने अवस्थामा मन्त्री छनोटमा पनि स्पष्ट आधार र प्रक्रिया हुनुपर्ने उनको तर्क थियो।

सांसद दीपक बोहोराले अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। उनले सरकारका केही निर्णय अपरिपक्व देखिएको भन्दै सत्तारूढ दलका सांसदले सरकारका सबै निर्णयको स्वतः समर्थन गर्न नहुने धारणा राखेका थिए।

अर्थमन्त्री वाग्लेमाथि न्यून मूल्यका आयातित वस्तुमा समेत भन्सार लगाइएको विषयमा प्रश्न उठेको थियो। करसम्बन्धी पछिल्ला निर्णयबारे अन्य सांसदले पनि असन्तुष्टि जनाएका थिए।

गृहमन्त्री गुरुङसँग जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका लागि सरकारले गरिरहेका कामबारे प्रश्न गरिएको थियो। आन्दोलनमा सहभागी भएकै आधारमा केही व्यक्ति अझै थुनामा रहेको भन्दै उनीहरूविरुद्धका मुद्दा फिर्ताको प्रक्रिया किन अघि नबढेको भन्ने विषयसमेत बैठकमा उठेको थियो।

सहिद परिवारका छोराछोरीको शिक्षा तथा घाइतेहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा पनि सांसदहरूले सरकारसँग स्पष्ट कार्यक्रम मागेका थिए।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको मन्त्रालयअन्तर्गत भइरहेका नियुक्तिको पारदर्शितामाथि समेत प्रश्न उठेको थियो। पोखरेलले भने नियुक्ति प्रक्रिया पारदर्शी रहेको दाबी गर्दै कुनै त्रुटि प्रमाणित भए सम्बन्धित व्यक्तिलाई फिर्ता बोलाउन आफू तयार रहेको बताएका थिए।

बैठकमा मल र ग्यास अभाव, महँगी तथा दैनिक जनजीवनसँग सम्बन्धित अन्य समस्या पनि उठाइएका थिए।

सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले मन्त्रालयसँग सम्बन्धित गुनासा संस्थागत रूपमा राख्न आग्रह गरेका थिए। उनले सरकारको कामबारे सांसदहरूबाट सार्वजनिक रूपमा पर्याप्त प्रतिरक्षा नभएको गुनासोसमेत गरेका थिए।

छलफलका क्रममा बैठकभित्रका विषय तत्काल सञ्चारमाध्यममा पुगेपछि सभापति रवि लामिछानेले आन्तरिक छलफलको गोपनीयता र पार्टी अनुशासनप्रति सांसदहरूको ध्यानाकर्षण गराएका थिए।

लामिछानेले सरकारका मन्त्रीलाई नियुक्तिमा योग्यता र समावेशिताको सन्तुलन कायम गर्न निर्देशन दिएका छन्। सांसद र मन्त्रीलाई संसदीय मर्यादा कायम राख्न, आफ्ना गतिविधि पारदर्शी बनाउन तथा संसदमा उठाउने विषय, भ्रमण र भेटघाटबारे पार्टीलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन्।

उनले मन्त्रीहरूको कामकारवाहीबारे गुनासो भए सम्बन्धित मन्त्रीलाई लिखित रूपमा प्रश्न गर्न र त्यसको बोधार्थ आफूलाई समेत उपलब्ध गराउन सांसदहरूलाई भनेका छन्।

सभापति लामिछानेले तत्काल मन्त्रिपरिषद हेरफेरको तयारी नरहेको स्पष्ट गरेका छन्। मन्त्रीहरूले धेरै काम गरिरहेको अवस्थामा केही निर्णय वा कार्यशैलीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले पार्टीभित्र प्रश्न उठाउन रोक नलगाइने बताएका छन्।

उनले प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सहभागितामा छिट्टै संसदीय दलको बैठक बस्ने जानकारी पनि दिएका छन्।

लामिछानेले सरकार बलियो भए पनि प्रतिपक्षी शक्तिहरू पनि एकजुट भइरहेकाले पार्टी, संसदीय दल र सरकारबीचको समन्वय थप मजबुत बनाउनुपर्ने बताए।

उनले सांसद तथा मन्त्रीलाई प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन, आफ्नो भूमिकाबारे अध्ययन गर्न र जनताका प्रश्नको ठोस उत्तर दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले केही समयअघि सामाजिक सञ्जालमा व्यक्त गरेको ‘एक्लै लड्नुपर्छ’ भन्ने भावनाबारे सोधिएको प्रश्नमा लामिछानेले त्यसलाई राजनीतिक दूरीको संकेतका रूपमा नबुझ्न आग्रह गरे। उनले प्रधानमन्त्री र पार्टीबीच कुनै विभाजन नरहेको र रास्वपा एकताबद्ध रहेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button